रवि लामिछानेलाई रिहा गरेर देखाउन जेन-जी सरकारलाई एमाले नेता बस्नेतको चुनौती (भिडिओसहित)


काठमाडौं, १ पुस । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले नेपालको विकासमा कायापलट गर्ने नेता केपी शर्मा ओली रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने सन्दर्भमा पनि अभियान नै चलाएको बताए । पार्टीसँग आवद्ध नेताहरुलाई पनि ओलीले कारबाही गर्ने प्रचलन चलाएको उनले बताए ।

साथै, उनले गत भदौ २४ गते जेन–जी आन्दोलनमा कैदी भगाउने र हतियार लुट्ने काम भएको र त्यसको जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेहरुले लिनुपर्ने बताए । जेलका कैदीहरु लामिछानेले भगाएको उनको दाबी छ । डिपी अर्यालदेखि हरि ढकालसम्म नख्खु कारागारमा गएर रविलाई निकाल्ने क्रममा १४ हजार कैदीहरुले भाग्ने मौका पाएको उनको भनाइ छ ।

उनले जेन–जी आन्दोलनको बलमा बनेको सरकारलाई लामिछानेलाई रिहाइ गरेर देखाउन चुनौती दिए । जेन–जी आन्दोलनको क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको भूमिका संकास्पद रहेको उनको भनाइ छ ।