एमालेको ११औं महाधिवेशनमा अभूतपूर्व परिवर्तन हुन्छ, ओलीको हार निश्चित छः सुरेन्द्र पाण्डे (भिडिओसहित)


काठमाडौं, १ पुस । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिहरुले ईश्वर पोखरेल समूहलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशनमा आएका प्रतिनिधिहरु समझदार र जवाफदेही रहेको र उम्मेदवारको योग्यता र क्षमता मूल्याङ्कन गरेर मतदान गर्ने बताए । उनले एमालेको ११औं महाधिवेशनले नेतृत्वमा अभूतपूर्व परिवर्तन ल्याउने र ईश्वर पोखरेल र उनको समूहको जित निश्चित रहेको दाबी गरे ।

‘एमालेको ११औं महाधिवेशनमा नेतृत्वमा अभूतपूर्व परिवर्तन हुन्छ । तपाईँले देख्न पाउनुहुने छ, यसबाट निकै धेरै नयाँ अनुहार, नयाँ चेहराहरु महाधिवेशनले नेतृत्वमा ल्याउने छ । एमाले नयाँ गति र उत्साहको साथ अगाडि बढ्ने छ भन्ने मलाई विश्वास छ,’– उनले भने ।

उनी ईश्वर पोखरेल प्यानलबाट महासचिवको उम्मेदवार रहेका छन् । महाधिवेशनका प्रतिनिधिहरुले आफ्नो उम्मेदवारीलाई बडो कौतुहलता र उच्च सद्भाव र समर्थनको साथ हेरिरहेको आफूले पाएको उनले बताए । आफ्नो पक्षमा मतदान गरेर महाधिवेशनले सही निर्णय गर्ने उनले बताए । उनले महाधिवेशनपछि पनि एमाले अभूतपूर्व एकताको साथ अगाडि बढ्ने बताए । एमालेभित्र धेरै प्रतिवद्धता बोकेका, घात, प्रतिघात सहेका कार्यकर्ताहरुको पंत्ति रहेको बताउँदै उनले एमालेमा नै रहेर यसपछि पनि आफ्नो भूमिका निर्वाह गर्ने बताए ।