एमाले महाधिवेशनः धोका पाएपछि ज्ञवाली रुँदै घर फर्किए, पोखरेल पनि ओलीसँग तर्किए


काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले छु्ट्टाछुट्टै गुट बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् । निर्वाचन तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । ओलीले आफ्नो समूहमा नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा धेरै नेताहरु चिढिँएका छन् । केही शीर्ष नेताहरुले ओलीको साथसमेत छाडेका छन् ।

ओलीको विश्वासपात्र मानिने प्रदीप ज्ञवालीले महासचिवको उम्मेदवार हुने आकांक्षा राखेका थिए । तर, ओलीले ज्ञवालीलाई उपाध्यक्षमा प्रतिस्पर्धा गर्न सुझाएपछि उनले केन्द्रीय सदस्यमामात्रै उम्मेदवारी दिएका थिए । महासचिवमा उम्मेदवारी दिन नपाएपछि ज्ञवाली रुँदै घर फर्किएको विषय निकै चर्चामा आएको थियो । ओलीले दिएको धोका कारण ज्ञवाली रुँदै घर फर्किएको नेता आनन्द पोखरेलले पुष्टि गरे ।

प्रदीप ज्ञवालीलाई महासचिवको उम्मेदवार नबनाएपछि उहाँ रुँदै घर फर्किनुभयो रे नि ? एमालेमा यस्तो दिन आयो ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो दृष्य मैले आफैंले पनि देखेको हुँ । मैले पनि त्यही अनुभूति गरेको छु । किनभने प्रदीप कमरेड र मेरो राजनीतिक जीवन र इतिहास उस्तै हो । जनताको तहबाट आएको मान्छे हौं । उहाँको निष्ठा, शालिनता, बहुप्रतिभाको धनी, तार्किक र समन्वयकारी व्यक्ति हो । उहाँ पनि असन्तुष्ट हुनुभनेको केपी कमरेडको निर्णय क्षमतामाथि प्रश्न उठेको छ ।’

पोखरेल पनि ओली प्यानलबाट नै उपमहासचिवको उम्मेदवार बन्न चाहन्थे । तर, अ‍ोलीले केन्द्रीय सदस्यमा समेत नसमेटेपछि उनी पनि बिच्किएका छन् । पोखरेले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनी उपमहासचिवमा एमालेको आधिकारिक उम्मेदवार आफू रहेको दाबी गर्छन् ।