विद्या भट्टराईले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिईनन्, अब संसदीय चुनाव पनि नलड्ने


काठमाडौं, १ पुस । नेकपा (एमाले) की नेतृ एवं पूर्व मन्त्री विद्या भट्टराईले पार्टीको ११औं महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवारी दिएकी छिनन् । उनले केन्द्रीय सदस्यमा समेत आफ्नो उम्मेदवारी दर्ता गराएकी छिनन् । फरक साथीहरु पार्टीमा आएर काम गर्ने अवसर पाउनुपर्छ भनेर आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको उनी बताउँछिन् । उनले एउटै मान्छे पटक–पटक उही पदमा दोहोरिनु उपयुक्त नहुने बताईन् ।

‘म दुई पटक संसद्को सदस्य भएँ । एक पटक केन्द्रीय कमिटी सदस्य भएँ । त्यसपछि मन्त्री भएँ । पार्टीले मलाई जिम्मेवारी दियो । मैले जिम्मेवारी निर्वाह गरेँ, एक प्रकारले गर्नुपर्ने योगदान गरेँ । पटक–पटक एउटै मान्छे किन दोहोरिनु त । फरक–फरक साथीहरु आउनुहुन्छ, काम गर्नुहुन्छ । नयाँहरु आउनका लागि प्रोत्साहित पनि गर्नुपर्छ,’– उनले भनिन् ।

साथै, आफू कुनै पनि पदमा दुई पटकभन्दा बढी नबस्ने उनले बताईन् । संसद् सदस्यको रुपमा पनि दुई कार्यकाल पूरा गरिसकेको बताउँदै उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार नबन्ने संकेत गरिन् । उनले भनिन्, ‘संसदीय चुनाव छलफल हुनै बाँकी छ । तर, मैले के भनेको छु भने– म दुई पटकभन्दा उठ्दिन भन्ने मेरो मान्यता हो । त्यो मान्यता मैले पछ्याउँछु ।’

एमालेको राजनीतिमा अहिले प्रवेश गर्न र निस्किन दुवै गाह्रो अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले युवा पुस्ताले नै एक्जिटको अभ्यास सुरु गर्नुपर्ने बताईन् । उनले भनिन्, ‘हाम्रो कस्तो भयो भन्दा आउन पनि गाह्रो, निस्किन पनि गाह्रो । आउनका लागि पनि हामीले एउटा प्रणाली बनाउनुपर्छ, निस्किनका लागि पनि प्रणाली बनाउनुपर्छ । होइन भने असन्तुष्टि बढ्छ । एक्जिटको अभ्यास हामीले सुरु गर्नुपर्छ भन्ने लाग्छ ।’