एमालेको नेतृत्व चयनका लागि निर्वाचन शुरु, ओली र पोखरेलले गरे पहिलो मतदान


काठमाडौं, पुस २ । नेकपा (एमाले)मा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउने काम आज मात्रै पुरा भएपछि मतदान सुरु हो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र इश्वर पोखरेलले मतदान गरेका छन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका छन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट मतदान गरेका छन् ।

महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग भएका छन् । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिएको छ । एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ । ११ जना निर्विरोध रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यस अवस्थामा एक जना प्रतिनिधिले कम्तीमा २ सय ९२ जनालाई मत दिनुपर्ने छ ।