बास्कोटाले ओलीलाई भोट हाल्ने


काठमाडौं, २ पुस । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदीप ज्ञवालीले क्याम्प परिवर्तन गरेर ईश्वर पोखरेललाई साथ दिने सम्भावना शून्य रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता अधिकारीले ज्ञवालीले केपी शर्मा ओली र उनको टिमलाई साथ दिने दाबी गरेका हुन् । ज्ञवाली ओली र ओली समूहबाट महासचिवका उम्मेदवार शंकर पोखरेलको विजयमा सबैभन्दा बढी खुसी हुने नेता अधिकारीको दाबी छ ।

‘प्रदीप ज्ञवाली शंकर पोखरेलको विजयमा सबैभन्दा बढी खुसी हुनुहुन्छ । हामी केपी ओलीसँग चौथो महाधिवेशनदेखि जोडिएका मान्छेहरु हौं । प्रदीपले केपी ओलीलाई राजनीतिक अभिभावक ठान्नुहुन्छ,’– उनले भने ।

साथै, नेता अधिकारीले ईश्वर पोखरेलको प्यानलबाट सचिवको उम्मेदवार रहेका गोकुल बास्कोटालेसमेत अध्यक्षमा केपी शर्मा ओलीलाई भोट हाल्ने दाबी गरे । उनले आफ्नो बास्कोटासँग यस विषयमा कुराकानी नै भइसकेको दाबी गरे । ‘ईश्वरको प्यानलमा भए पनि अध्यक्षमा गोकुल बास्कोटाले केपीलाई नै भोट हाल्नु हुन्छ । मेरो कुरा भएको छ अघि भर्खरै,’– उनले भने ।