‘ओली भएनन् भने एमाले र देशै चल्दैन’ भन्नु हावादारी होः सीपी मैनाली (भिडिओसहित)


काठमाडौं, ३ पुस । नेकपा मालेका महासचिव सीपी मैनालीले केपी ओलीको नेतृत्व, तौरतरिका र शैलीको विषयमा एमालेमा चर्को विरोध रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले पुँजीवादी प्रजातन्त्रलाई आफ्नो सिद्धान्त बनाएको बताए । एमालेमा अहिले बहुमतको तानाशाही लाद्ने प्रवृत्ति रहेको उनले बताए । ओलीको शैली, तौरतरिका, व्यक्तिवाद र स्वच्छन्दताको अहिले व्यापक रहेको उनको भनाइ छ ।

‘केपी ओलीको नेतृत्व, तौरतरिका, शैली आदि विषयमा त्यहाँ चर्को विरोध छ । उनीहरुले बहुदलीय जनवाद भनेर पुँजीवादी प्रजातन्त्रलाई आफ्नो सिद्धान्त बनाएका छन् । उनीहरुले बहुपदीय सिस्टम पनि ल्याएका छन् । त्यो पार्टीमा सामान्य ढंगले नभएर चर्को विवाद छ,’– उनले भने ।

साथै, एमालेको ११औं महाधिवेशनबाट निर्वाचित भएर नेतृत्वमा ओली नै आउने सम्भावना रहेको बताए । उनले ओलीमा निरङ्कुश प्रवृत्तिको छाप भएको कारण नै एमालेमा असन्तुष्टि रहेको बताए । ईश्वर पोखरेलले सामूहक नेतृत्वमा चल्ने, व्यक्तिवादी प्रवृत्ति नअपनाउने र ओलीको पक्षमा विरोधको वातावरण बनिरहेको समेत बताए ।

ओलीलाई एमालेको एउटा पंक्तिले घनघोर राष्ट्रवादी र उनी भएनन् भने पार्टी र देश नै चल्दैन भन्नेखालको हावादारी कुरा गरिरहेको बताए । यस्तोखालको कुराले प्रत्यक्ष नतीजा नल्याउने उनको भनाइ छ । ‘ओली घनघोर राष्ट्रवादी हुन् । यी भएनन् भने एमाले चल्दैन, यी भएनन् भने देशै चल्दैन भन्ने हावादारी कुरा गरिरहेका छन् । त्यस्तो हावादारी कुराले प्रत्यक्ष नतीजा ल्याउने त देख्दिन्,’– उनले भने ।