काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्धारित मितिमा चुनाव गर्ने परिस्थितिमा नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन आउनका लागि ८० दिन बाँकी रहँदा सरकार भने मन्त्रिमण्डल विस्तार गर्ने, नियुक्ति र सरुवा बढुवामा रुमलिएको बताए । उनले अहिले बाटोमा हिँड्ने मान्छेहरु मन्त्री भइहालिन्छ कि भनेर डराउन थालेको टिप्पणी गरे ।
‘जेन–जीको प्रदर्शन पछाडि बनेको सरकार यो संविधानअनुसार छैन । तर राजनीतिक निकासका लागि एउटा परिस्थितिमा बनेको सरकार हो । नयाँ पुस्ताहरुलाई आकर्षण गर्न बिर्सिने होइन । जेन–जीहरुको माग पनि सम्बोधन गरिनुपर्छ । निर्वाचन हुनका लागि ८० दिन बाँकी छ । कुनै तयारी भएको छैन । उल्टो मन्त्रिमण्डल थपघट गर्नमा सरकार केन्द्रीत भएको देखिन्छ । मन्त्रिमण्डलमा पनि केही मान्छेहरु काम गर्न उत्साहित हुनुहुन्छ । तर, विवाद भएका मान्छेहरु मन्त्रिमण्डलमा तान्ने काम भइरहेको छ । बाटोमा हिँड्ने मान्छेहरु कतिखेर मन्त्री भइने हो भन्ने पीर भइसकेको छ । बाटोमा हिड्ने मान्छेहरु डराउन थालिसके । कतिपय मान्छेहरु मेरो पनि नाम आउला कि जस्तो भयो भन्न थालिसकेका छन्,’– उनले भने ।
वर्तमान सरकार चुनावको पक्षमा नरहेको उनले बताए । उनले अदालतले संविधान ट्रयाकमा ल्याउने विश्वास व्यक्त गरे । तर, पनि कांग्रेस निर्वाचनबाट नभाग्ने उनको भनाइ छ । उनले संसद् पुनर्स्थापनाबारे अदालतको निर्णय आफूहरुलाई स्वीकार रहेको बताए ।
उनले विगतमा संसद् विघटनको माग गर्ने जेन–जीहरु पनि अहिले संसद् पुनर्स्थापनाको पक्षमा आइपुगेको बताए । उनले जेन–जीहरुले संसद् विघटन गर्नु गलत रहेको भन्ने ठाउँमा पुगेको नेता खतिवडाको दाबी छ । उनले कांग्रेसका अरु निवर्तमान सांसदहरु पनि आज संसद् पुनर्स्थापनाको पक्षमा अदालत जाने तयारीमा रहेको बताए । जेन–जीका मागहरु संसद्बाटै सम्बोधन गरौं भन्ने पक्षमा आफूहरु रहेको उनले बताए ।
उनले कांग्रेसको महाधिवेशनको तयारी पनि तीब्र भइरहेको बताए । क्रियाशील सदस्यताको काम भइरहेको पनि उनले बताए । अहिले आफूहरु पार्टीभित्र पनि नयाँ परिस्थिति सिर्जना गरेर सबैलाई अटाउने गरी अगाडि बढ्ने बताए । नेपालको राजनीतिमा दलित, महिला, पीछडिएको वर्ग, युवा सबैलाई समानुपातिक प्रतिनिधित्व गराउने उनले बताए । महाधिवेशनको निर्धारित मिति एक÷दुई दिन ढिला हुने सक्ने पनि उनले बताए ।




प्रतिक्रिया