पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता


काबुल, ३पुस । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार यी व्यक्तिहरूलाई एक दिन देखि दुई महिना सम्म हिरासतमा राखिएको थियो ।

तिनीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्केको जनाइएको छ भने आइ पुगे पछि, उनीहरूले आफ्नो गृह प्रान्तहरूमा पुग्नु अघि सीमा क्षेत्रमै सहयोग प्राप्त गरेको जनाइएको छ ।

केही महिना अघि जारी गरिएको देशको विदेश मन्त्रालयको तथ्याङ्कले दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ । रासस