काठमाडौं, पुस ४ । नेकपा (एमाले)का नेता काशीनाथ अधिकारीले पनि सक्रिय राजनीतिबाट बिदा लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।
अहिले ६६ वर्षको उमेर भएको र अब पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै उनले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने जनाएका छन् । यसबीचमा आफूले इमान, निष्ठा र समर्पणका साथ तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको दाबी गर्दै उनले एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको प्रष्ट पारेका छन् । अधिकारीले पार्टीको ११औँ महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका थिएनन् ।
यसअघि एमालेका तीन प्रभावशाली नेताले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरेका नेताहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडाल हुन्। एमाले राजनीतिमा लागेर पार्टीका उपल्लो तहमा पुगेका तीनै नेताले ७० वर्षे उमेर हदका कारण पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।




प्रतिक्रिया