बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै


दशरथचन्द (बैतडी), ४ पुस । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।

खाद्यबाली जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताए । “बाँदरले अन्य बालीमा क्षति पु¥याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भने ।

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताए । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिए ।

सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए ।

बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए ।

“महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छौँ”, उनले भने, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छांै र समाधान पनि खोज्छौँ ।” रासस