काठमाडौं, ४ पुष । ‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा आज एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामा वक्ताहरुले खाडीमा रहेका नेपालीहरुको समस्या समाधानको लागि सरकारको ध्यानाकार्षणसमेत गराए ।
दुवईमा ६ वर्षदेखि कार्यरत भुवनकुमार वाग्लेले मध्यपूर्वमा रहेका नेपालीहरुको अवस्था, काम, सिप र क्षमताको साथै आयको विषयमा प्रकाश पारेका थिए । उनकाअनुसार मध्यपूर्वमा २० लाख नेपाली कार्यरत छन् । उनले भने,‘८० प्रतिशत जनसंख्या ब्लु कलर वर्क (श्रमिक) तलव १००० देखि १५०० सयसम्म खानेहरु हुनुहुन्छ । उहाँहरु शहरभन्दा बाहिर बस्नुहुन्छ । २ वर्ष बस्दा ऋणपनि राम्रोसँग तिर्न नसक्ने अवस्था छ । २० प्रतिशत ह्वाईट कलर जबमा छन् । व्यवसायिकतातर्फ त्यस्तै छ । ३५ देखि ४० लाखसम्म तलव खाने नेपाली पनि छन् । युएई, साउदी र कतारमा व्यवसायपनि गरिरहेका छन् ।’ उनले श्रम–गन्तव्य मुलुकमा रहेकाहरुको समस्या समाधानको लागि सरोकारवालापक्षले गम्भीर पहल गर्नुपर्ने बताए ।

यस्तै, अन्तर्राष्ट्रिय मधेशी एकता समाजका केन्द्रीय अध्यक्ष डा. रविन्द्र कुमार यादवले नेपाल वैदेशिक रोजगारको चलनको इतिहास सुनाए । उनले भने,‘नेपालबाट वैदेशिक रोजगारीको सुरूवात भारतमा अँग्रेजको शासनकालदेखि नै सुरु भयो । प्रजातन्त्र आएपछि खासगरि सहज ढंगले पासपोर्टको उपलब्धतता भएपछि यो क्रम झनै बढ्यो । पहिला भारतका विभिन्न शहरमा जाने गर्दथे । पछि नेपालीहरुको गन्तव्य मलेसिया भयो । लोकतन्त्र आएपछि खाडी मुलुकमा जान थाले ।’
उनले खाडीमा रहेका नेपालीहरुले दुःखद् मृत्युवरण गर्नुपरेको पनि उल्लेख गरे । उनकाअनुसार प्रतिदिन चारदेखि पाँच जना नेपालीहरुको मृत्यु हुने गरेकोमा पहिलो कारण हृदयघात, दोस्रो कारणमा आत्महत्या र तेस्रो कारण सवारी दुर्घटना रहेको छ ।
वैदेशिक रोजगार एप र वैदेशिक रोजगारसम्बन्धी लामो समयदेखि कलम चलाउँदै आएका अनिल अधिकारी र गैरआवासीय इराकका अध्यक्ष विनोद श्रेष्ठलगायतले खाडीमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्याको बारेमा बोलेका थिए ।
यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले खाडीमा रहेका नेपालीहरुको श्रमबाट आर्जित पैसा विप्रेषण (रेमिट्यान्स) ले देश धानेको बताए । तर, कडा श्रम गर्न बाध्य नेपालीहरुको पीडाको बारेमा नेपाल सरकारले त्यति चासो नदिएको गुनासो आएको भन्दै अब उनीहरुको समस्या समाधानको लागि ध्यान दिनपनि उनले सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘खाडीको तातो हावामा श्रम गर्न हाम्रा नेपालीहरु बाध्य छन् । नेपालीहरु ठूलो पीडामा छन् । त्यहाँ रहेका नेपालीहरुलाई परेको पीर, मर्का, समस्याको समाधान गरिनुपर्छ । राज्य–संयन्त्र, सरकारले श्रमको लागि विदेशिएका नेपालीहरुको समस्या समाधान गर्न गम्भीर पहल लिनुपर्छ ।’




प्रतिक्रिया