काठमाडौं, ५ पुष । राजनीतिक विश्लेषक अरुण सुवेदीले संवैधानिक हिसाबले संसद् पुनःस्थापना हुनुपर्ने बताए । उनले भने,‘जुन अवस्थामा प्रतिनिधिसभा विघटन भएको हो, संवैधानिक हिसाबले हेर्दा संसद् पुनःस्थापना हुनुपर्ने हो, अदालतले पनि तात्कालिन राजनीतिक वातावरण, विश्व वातावरण र जनअभिमत हेरेर निर्णय गर्नुपर्यो भने, जुन अस्तिको आन्दोलन भयो, आन्दोलनको परिस्थितिलाई मध्यनजर गरेर अदालतले अन्यथा निर्णय गर्यो भने म भन्न सक्दिनँ, तर संवैधानिक रुपले संसद् पुनःस्थापना हुने आधारहरु छन् ।’
आज (शनिबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहदमा राखेर जाँदा निर्वाचन हुन्छ त ? भनेर प्रश्न उठाएका छन् ।
उनले भने,‘चुनाव हुनको लागि एक दुई वटा वातावरणको लागि शंका गर्नु स्वाभाविक छ, अस्ति जुन परिस्थिति देखापर्यो, त्यसमा नेपालमा सुरक्षा निकायहरुको निर्वाचन गर्ने क्षमता विकास भइसकेको छ कि छैन अहिले न? त्यो एउटा सन्देहको विषय हो । मुलुकको दोस्रो ठूलो दलको प्रमुख व्यक्तिलाई नै स्थानहदमा राखेर जाँदा निर्वाचन हुन्छ कि हुँदैन ? यो विषयले प्रश्न उठाएको छ ।’ उनले कांग्रेस दुवै विकल्पको लागि तयार भएर बस्नुपर्ने सुझाव दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार बनेको एक सय दिनमा स्थिति सामान्यीकरणतर्फ गएको सुनाए ।




प्रतिक्रिया