चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लि. र विनोद कुँवर एण्ड एसोसिएट ग्रुपबीच नेपालमा बहुक्षेत्रीय लगानीका लागि समझदारी


काठमाडौं, ५ पुस । नेपाल — नेपालमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक विकासलाई गति दिने उद्देश्यका साथ स्थापित चार्टर्ड क्यापिटल इन्भेस्टमेन्टका अध्यक्ष तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउद र गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष तथा उद्योगि श्री बिनोद कुवँरले नेतृत्व गर्नुभएको कम्पनि बीच आज एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीअनुसार श्री कुवँरको नेतृत्वमा रहेको समूहले चार्टर्ड क्यापिटलमा लगानी गर्नेछ भने चार्टर्ड क्यापितलले उक्त लगानीलाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा सञ्चालन हुने परियोजनाहरूमा परिचालन गर्नेछ । यस साझेदारीमार्फत उद्योग, पूर्वाधार, उत्पादन, सेवा, ऊर्जा, पर्यटन, कृषि तथा अन्य प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गरी मुलुकमा दिगो आर्थिक वृद्धि र उल्लेखनीय रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै चार्टर्ड क्यापिटलका अध्यक्ष श्री साउदले निजी क्षेत्र र प्रवासी नेपाली विचको पूँजीको सहकार्यले नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले पारदर्शी, व्यवस्थित र दीर्घकालीन लगानी मोडलमार्फत राष्ट्रिय प्राथमिकताका परियोजनाहरू अघि बढाइने बताए ।

त्यसैगरी, विनोद कर्पका अध्यक्ष श्री बिनोद कुवँरले स्वदेशमा लगानी विस्तार गर्नु आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको उल्लेख गर्दै यस सहकार्यले युवाहरूका लागि रोजगारी, सीप विकास र उद्यमशीलताको वातावरण सुदृढ गर्ने बताए । उनले नेपालमा उपलब्ध सम्भावनालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

यो समझदारीपत्रलाई नेपालमा निजी तथा प्रवासी पूँजी आकर्षण, लगानीमैत्री वातावरण प्रवद्र्धन र समावेशी आर्थिक विकासतर्फको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।