अहिलेको परिस्थितिको निकास निर्वाचनबाहेक अरूले दिन सक्दैन : डा. मिनेन्द्र रिजाल (भिडिओसहित)


काठमाडौं, ५ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको परिस्थितिको निकास निर्वाचनबाहेक अरुले दिन नसक्ने बताएका छन् । आफ्नो दलले निर्वाचनमा जाने भनेर निर्णय र तयारी गरिसकेकोले आफूहरु त्यही पक्षमा रहेको रिजालको भनाई छ ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले २१ फागुनमा नै निर्वाचन हुने विश्वास दिलाए । तर, निर्वाचन गराउने जिम्मेवारी वर्तमान सरकारको भएको पनि उनले सम्झाए ।

उनले भने,‘यो सरकारले निर्वाचन गराउने जिम्मेवारी पूरा गर्नुपर्नेछ, हामीसँग त जिम्मेवारी पूरा गर्छु भनेको छ । अहिले हामीले गर्छ भनेर विश्वास राखेर नै आफ्नो तयारी गर्दा राम्रो हुन्छ ।’ निर्वाचनको बाटोमार्फत नै सबै एक ठाउँमा जोडिने ठाउँमा पुगिने उनको विश्वास छ । वर्तमान सरकारले निर्वाचनको तयारी चलाखीपूर्ण तवले गर्नुपर्ने उनको सुझाव छ । एमाले निर्वाचनभन्दा बाहिर नजाने उनको विश्वास छ । वर्तमान सरकारलाई निर्वाचन गराउने जिम्मेवारी प्राप्त भएकोले सरकारले तदारुकताका साथ काम गर्नुपर्ने पनि उनले सुझाव दिए ।