-सृजना राई
काठमाडौँ, ५ पुस । गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ भएको भए तँ पनि जान्थिस, चिन्ता लिनुपर्दैन केही हुँदैन ।”
त्यो बिहान आन्दोलनमा जाने सौरनको हठले जित्यो । अघिल्लो रात बचेको खाना तताएर खाए । दारी काटे र नुहाए । घरबाट निस्किँदै गर्दा साथमा चाउचाउ, चिप्स, पानी र रुमाल राखेकोे झोला भिरे ।
“मुलुकमा देखिएको भ्रष्टाचार र राजनीतिक विसङ्गतिविरुद्ध आह्वान हो, हामी बोल्नुपर्छ बुबा”, घरबाट निस्कन अघि सौरनले बुवालाई सम्झाउँदै भनेका थिए ।
अन्तरमुखी स्वभावका सौरन पहिलो पटक आन्दोलनमा सहभागी हुँदै थिए । यता, परिवारको चिन्ता चुलिँदै थियो । सामाजिक सञ्जालमा जेनजीले उठाएको मुद्दाले उनलाई छोएको थियो । राजनीतिप्रति कम चासो लिने उनले त्यो आन्दोलनलाई भने चासोका साथ लिएका थिए । उनी यसपटक दबाबमूलक प्रदर्शनमा सहभागी हुने अठोट गरेका थिए ।
काठमाडौँ नगरपालिका–१६ वनस्थलीमा बस्ने सौरन किशोर श्रेष्ठले माइतीघरस्थित जेनजी प्रदर्शनमा सहभागी भएको केही समयसम्म पनि श्रीमती रोजिता श्रेष्ठसँग फोन सम्पर्कमा थिए ।
केही समयलगत्तै सम्पर्क टुट्यो । यता प्रदर्शनकारीमाथि सरकारको दमन र मृत्युको समाचारमा मृतकको सङ्ख्या बढ्न थाल्यो । तत्कालीन समयमा अमेरिकामा रहेका बुबा किशोरले समाचारबाट थाहा पाए, छोराले सहादत प्राप्त गरेछ ।
“सरकारको दमनबाट प्रदर्शनकारीको मृत्यु भएको समाचारबाटै थाहा पाए, त्यो घटनामा हाम्रो छोरा परेछ । तर श्रीमतीलाई भनिन्, कसरी भन्न सकू”, छोरोबारे कुरा गर्दै गर्दा काखमा छ वर्षे नाति, सौरनको छोरा श्रेयनलाई च्यापिरहेका छन्, “संसद् भवन अगाडिको एक नम्बरको गेटमै हुनुपर्छ । सुरुआत दमनमै छोरोमाथि गोली प्रहार भएको रहेछ । छातीको दायाँपट्टी दुई वटा गोली, हात र घाँटीमा छर्रा लागेको रहेछ ।”
नेपालमै रहेकी सौरनकी श्रीमती रोजिताले त्यसअघि नै खबर पाइसकेकी थिएन । घाइते सौरनलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल (सिभिल) हुँदै केएमसी अस्पताल पुर्याइएको थियो । प्रदर्शनकारीहरुले नै उनलाई सिभिलसम्म पु¥याएको थियो । सौरनले अचेत हुनुअघि श्रीमतीको नम्बरसम्म भन्न भ्याए ।
श्रीमान्को खबरले विक्षिप्त उनी आफ्नो छ वर्षे छोरो च्यापेर अस्पताल पुगिन् । पुगेको केही समयमै अस्पतालले मृत घोषणा ग¥यो । वृद्ध आमाबुबाले छोरो गुमाए, छ वर्षे नाबालकले बुवा र रोजिताले जीवनसाथी । ३८ वर्षीय सौरन श्रेष्ठ पाँच वर्षको कोरिया बसाइपछि स्वदेशमा केही गर्न सकिन्छ भन्ने अपेक्षाले देश फिर्ता आएका थिए । तर केही समयसम्मको नेपाल बसाइँपछि उनले पुनःविदेशिने निर्णय गरेका थिए । यसपटक उनको रोजाइ क्यानडा थियो ।
अमेरिका भ्रमणमा रहेका बुवा र आमा फर्किएपछि दसैँलगत्तै परिवारको पुनःमिलनको प्रतिक्षामा थियो, श्रेष्ठ परिवार । सौरनको मृत्युको खबरलगत्तै आमाबुवा नेपाल फर्किए । दसैँपछि परिवार पुनःमिलन कुरिरहेको छोराको गोली र छर्रासहितको शव बुझ्दै गर्दाको दृश्यले श्रेष्ठ दम्पती विगत तीन महिनादेखि निदाउन दिएको छैन ।
“हामीलाई नै कुरेर बसिरहेको थियो । दसैँपछि हामी नेपाल फर्किन्छौँ भन्ने तयारीमा थियौँ । तर ऊ आफैँले दसैँ पनि मनाउन पाएन । हामीलाई धेरै पीडा भइरहेको छ”, आमा, निरु श्रष्ठले हरेक पटक सौरनको कुरा निस्किँदा आँसु थाम्न सकन्नुहुन्न, “परिवारलाई माया गर्ने । मेरो बाबु सोझो थियो, ज्ञानी थियो । के गर्नु ।”
पहिलो पटक आन्दोलनमा भएको थियो, पहिलो लटमै पर्यो
सौरन बिबिएस पढ्दापढ्दै कोरिया गएका थिए । क्रिकेटमा रुचि राख्ने उनी अधिकांश समय परिवारसँग बिताउन मनपराउथे । उनी घरको जेठो छोरा हुन । श्रेष्ठ दम्पतीको पहिलो सन्तान उनको बहिनी अमेरिकामा बस्दै आएकी छिन् । बागलुङ स्थायी ठेगाना भएका उनी र सपरिवार वनस्थली बस्दै आएका थिए ।
उनले बागलुङ नगरपालिकामा विद्यालय तह र कक्षा १२ काठमाडौँको भिएस निकेतनमा अध्ययन गरेका थिए । उनका धेरै साथीहरु भएको परिवार सदस्यहरु जानकार छैनन । “आखाँमा नबिझाउने केटो थियो, मेरो छोरा”, ६० वर्षीया निरुले भनिन्, “उसलाई परिवारभन्दा अरु चासो थिएन । हतपत बाहिर नहिँड्ने, सहभागी नहुने केटो आन्दोलनमा गयो । उसको राजनीतिज्ञसँग सहमत नै हैन, त्यस्तो साथीहरु थिएनन् ।”
सिंहदरबार धाइरहेको सहिद परिवार
सौरनका बुबा किशोर अहिले हरेक दिनजसो सिंहदरबार धाउछन्। सौरन र ऊ जस्तैले दिएको बलिदान खेर नजाओस् भन्नेमा उनी दृढ छन् । यस्तै विषयमा सरकारका मन्त्री प्रधानमन्त्रीलाई बेलाबेलामा झक्झकाइरहन्छन् ।
पेसाले व्यवसाय गर्दै आएका उनी आफूसँगै अन्य सहिद परिवारको आवाज बोकेर सिंहदरबारभित्र मन्त्री र सचिवको कार्यकक्ष धाइरहेको बताउँछन्। सहिद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनको नै उनीहरुको मुख्य माग हो ।
“मेरो घरमा प्रधानमन्त्री, सञ्चारमन्त्रीलगायत तत्कालीन मन्त्रीहरु आउनुभयो । तीन चार समूहका जेनजी नानीबाबु पनि आउनुभयो । सरकारले गर्छु भनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले रुँदै छोराको शवमा फूल चढाउनुभयो”, ६३ वर्षीया किशोर श्रेष्ठ भन्छन्, “तर सरकारका मन्त्रीहरुको आश्वासनको बाबजुत कर्मचारीतन्त्र अझै अलमलमा देखिन्छन । मन्त्रीहरु हुन्छ, हुन्छ भन्नुहुन्छ, कर्मचारीहरु भएन, भएन भन्छन् ।”
जेनजी प्रदर्शनमा सहिद भएका परिवारहरुले विभिन्न मागसहित कार्यान्वयनका लागि पहल गरिरहेका छन् । सरकारसँगको विश्वास र अपेक्षामा सिंहदरबार धाइरहेका उनलाई कर्मचारीतन्त्रबाट हतोसाहित हुने गरेको गुनासो सुनाउँछन् ।
“सहिदको बालबच्चालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था, परिवारलाई योग्यताअनुसारको रोजगारी, बुवा आमालाई जीवननिर्वाह भत्ता, स्वास्थ्य बिमा र यातायात, बैंकलगायतमा सुविधा पाउनुपर्छ भन्ने माग राखेका छौँ”, उनले भने, “संसद् भवन अगाडि सहिदहरुको शालिक बनाउनुपर्छ ।”
गृहमन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा बनेको संयन्त्रबाट पास भएर गएका विषय मन्त्रिपरिषद्मा जाने र सचिवले गर्ने प्रायः धेरै काम रोकिएको छ । मन्त्रीहरुले हुन्छ भनेको काम सचिवबाट रोकिएको छ । कहिले के भएन भन्ने कहिले के, टिप्पणी उठदैन । संयन्त्रमा सहमति भयो तर कार्यान्वयन भएको छैन । पास गर्न सकिएको छैन । त्यही कारण हामी सिंहदरबार धाएको धाए छौँ, कहिले मन्त्री स्वयंले समय दिनुहुन्छ, कहिले के हुन्छ यसैगरी चलिरहेको छ ।” रासस




प्रतिक्रिया