मौन पीडामा रहेकी कालिमायाको याचना …


तनहुँ, काठमाडौं, पुस ६ । तनहुँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् ।

उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ । कालिमायाले झलकलाई देखाउँदै भनिन्“देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ? ” उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।

कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु पर्यो । उनले भनिन्, “ श्रीमान्ले अकल्पनीय रुपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु । ”

केही समयअघि एक सस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो । तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन । उनले भनिन्, “ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ । ”

कालिमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।” झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन् । रासस