दुई/तीन वर्षमा रास्वपाका नेताहरु कोही घुस काण्ड र कोही केटी काण्डमा मुछिएको भीम रावलको टिप्पणी, नख्खु जेलबाट भागेको भन्दै रवि लामिछानेको आलोचना (भिडिओ–सहित)


काठमाडौं, ६ पुष । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता डा. भीमबहादुर रावलले रास्वपाका सभापति रवि लामिछानेलाई अरू दललाई चूनौति दिनुभन्दा आफ्नो काम गरेर देखाउन भनेका छन् । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ठूला ठूला जनसभा आयोजना गरेको र लाखौं जनता परिचालित भएको रावलले स्पष्ट पारे । आफूहरुले जस्तै जनता परिचालित गरेर देखाउन उनले लामिछानेलाई चूनौति दिए ।

उनले भने,‘हाम्रो समर्थनमा लाखौं जनता मैदानमा उत्रिनुभएको छ, ती जनता होईन र ? के हो ? कसलाई के को चूनौति दिने ? आफ्नो काम गरेर देखाउनु न । उहाँको नेताहरुले नेपाललाई भारतको प्रान्त बनाउनुपर्छ भनेर भाषणा गर्नुभएको छ, तिनलाई कारबाही गरेर देखाउनुहोस । आफ्नो चरित्र देखाउनुहोस न ।’

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लािमछानेलाई चर्का कुरा गर्नभन्दापनि व्यवहारमा के काम गरेको हो भनेर देखाउन चूनौति पेश गरे । आफूहरु विगत ५० वर्षदेखि जनताको सेवामा खरो उत्रिएको मान्छे रहेको पनि रावलले सुनाए । रास्वपाका नेताहरु आएको दुई/तीन वर्षमा नै कोही के घुस काण्ड र कोही केटी काण्डमा मुछिएको पनि रावलले स्मरण गराए । उनले भने,‘अर्कालाई किन त्यस्तो भन्ने ? आफू राम्रो गरेर देखाउनुहोस न त व्यवहारमा, राजनीतिक मैदान त सबैको लागि खुला छ त । यो लोकतन्त्रमा कसले कसलाई रोक्न सक्छ ?’

भदौ २३ र २४ गते देशमा अकल्पनीय घट्ना घटेको उल्लेख गर्दै रावलले सुशीला कार्की नेतृत्वको सरकारलाई दलाई लामाले बधाई दिँदासमेत यो सरकारले अस्विकार नगरेको टिप्पणी गरे । निर्वाचनमा कसलाई मत दिने भनेर भोलि जनताले निर्णय गर्ने उनको भनाई छ । रास्वपाका नेताहरु दुई/चार वर्षदेखि राजनीतिमा भएपनि आफूहरु ५०औं वर्षदेखि राजनीतिक यात्रामा रहेको उनको भनाई छ ।

उनले भने,‘उहाँहरुले यो देश ध्वस्त हुँदा आवाज उठाउनुभयो त ? खरबौंको पैसा कहाँबाट आउँछ ? आज नागरिकता लिनको लागि सिडिओको अफिस छैन ? प्रहरी बेईज्जत गरिएको छ, जसका पोशाक, हतियार लुटिएका छन्, हजारौं गोली गठ्ठाहरु लुटिएका छन्, कानून मान्नुपर्ने कैदीबन्दीहरु फरार हुने को हो ? नख्खु जेलबाट भागेर ? जनताले हेरेको होलान नि, ताजा जनादेशमा जाऔं, नेपाली कम्युनिष्ट पार्टी तयार छ ।’