मधेस प्रदेशका सभामुख यादवद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण


महेन्द्रनगर (धनुषा), ७ पुस । मधेस प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आज जनकपुरधाम उपमहानगरपालिका–१४ मा मधेस आन्दोलनका वीर सहिदहरूको स्मृतिमा निर्माण गरिएको सहिद स्मारकमा पुगेर फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जली अर्पण गर्दै सभामुख यादवले मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गरेका वीर सहिदहरूको त्याग, समर्पण र बलिदानलाई स्मरण गरे । उनले सहिदहरूको बलिदान सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्दै प्रदेशको समृद्धि, समानता र सामाजिक न्यायका लागि प्रदेशसभामार्फत इमानदार र निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

सहिदहरूको योगदानकै कारण मधेसले आफ्नो अधिकार, पहिचान र आवाज स्थापित गर्न सकेको बताउँदै उनले ती आदर्शलाई आत्मसात् गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने उल्लेख गरे । रासस