गगन थापाको दाबी : म पार्टीको सभापति बन्छु


काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू १५औं महाधिवेशनमा पार्टीको सभापतिको उम्मेदवार रहेको र जित्ने दाबी गरेका छन् । उनले भने,‘म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु ।’ उनले अधिवेशन तोकिएकै मितिमा गर्नको लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।

आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बदल्नको लागि आफू लागिपरेको बताए । उनले यो अधिवेशनले कांग्रेसलाई बदल्ने र देश बदल्न पनि यसले योगदान पुर्याउने बताए । उनले अधिवेशनको प्रक्रियालाई नियतवश अवरुद्ध गर्ने काम भयो भने विशेष महाधिवेशन गर्ने अवस्था बन्ने दाबी गरे ।

उनले एमालेले चूनौतिको बीचमा पनि अधिवेशन सम्पन्न गरेकोमा प्रशंसा गरे । जनताको बीचमा जाँदै गर्दा कांग्रेसले पनि अधिवेशन समयमै गरेर जानुपर्ने थापाको मत छ । सो क्रममा उनले भदौ २३ गते भएको घट्नाको जिम्मेवारी तत्कालिन सरकारले लिनुपर्ने टिप्पणी गरे । उनले भने,‘घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरुले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’ तस्बिर : रासस