राजसंस्था फर्कनसक्ने टिप्पणी गरेकी विद्या भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहबारे के भनिन् ? (भिडिओसहित)


काठमाडौं, ७ पुष । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता र कुराकानी नगरेको बताएकी छिन् । प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाले सोधेको ‘पूर्वराजासँग सम्वाद, कुराकानी कत्तिको हुन्छ ?’ भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘होईन, छैन । भेटघाट छैन ।’

तर, आफूले पूर्वराजासँग भेटेको भन्ने विषयमा नयाँ नयाँ भाष्य बनाईएको उनको टिप्पणी छ । उनले भनिन्,‘त्यही त यो नयाँ नयाँ भाष्य, पूर्वराजासँगको र सुशीला कार्कीसँगको, नयाँ भाष्य ।’ धमलाले नेपालमा राजसंस्था फर्कनेसक्ने सम्भावनाबारे सोधेको प्रश्न उनले राजनीतिमा कुनै कुराको सम्भावना नै छैन भनेर भन्न नसकिने बताईन् । उनले भनिन्,‘राजनीतिमा कुनै कुराको सम्भावना छैन त भन्न सकिँदैन । समय र परिस्थितिको खेल हो । देश यस्तै तरल अवस्थामा रहिरह्यो भने राजसंस्था फर्किन सक्दैन भन्न सकिँदैन । राजसंस्था फर्किएको खण्डमा अवश्यपनि ज्ञानेन्द्र शाह राजा बन्न सक्नुहुन्छ।’

पूर्वराजा ज्ञानेन्द्र शाह कस्तो व्यक्ति भनेर सोधिएको अर्को प्रश्नमा उनले आफूले शाहसँग नजिकबाट अध्ययन नगरेको स्पष्ट पारिन् । उनले भनिन्,‘एउटा राजाको रुपमा मैले चिनेको हो । तर, व्यक्तिको रुपमा मैले चिनेको छैन । उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सन्तति हो, त्यो हिसाबले मेरो उहाँप्रति सम्मान छ । उहाँले जसरी राजगद्दी त्याग गर्नुभयो, त्यो प्रति पनि मेरो सम्मान छ। उहाँले आँफै जनताको नासो जनतालाई भनेर आँफै गाडी ड्राईभ गरेर श्रीमती लिएर हिँडेको व्यक्ति हो । उहाँलाई देशप्रति माया छ भन्ने विश्वास छ ।’