आजको आन्दोलनमा प्रहरी दमन भएको भन्दै संयुक्त जेन-जी आन्दोलनको निन्दा, भोलि अझ सशक्त आन्दोलन गर्ने घोषणा (विज्ञप्तिसहित)


काठमाडौं, ७ पुष । संयुक्त जेनजी आन्दोलनले आजको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै गम्भीर आपत्ति तथा घोर भत्र्सना गरेको छ । आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ती जारी गरेर आन्दोलनमा भएको दमनको निन्दा गरेका हुन् ।

उनीहरुले आफूहरु सधैं वार्ता तथा सम्वादमार्फत आफ्ना जाय मागहरु समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरुसँग सम्वादको ढोका खुला राखेको स्पष्ट पारेका छन् । तर, जबसम्म जेनजी आन्दोलनका मागहरु पूरा नभएसम्म आन्दोलन अझ संगठित र सशक्त रुपमा निरन्तर अघि बढ्ने जानकारी गराईएको छ ।

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्ने पनि संयुक्त जेनजी आन्दोलनको चेतावनी छ । आन्दोलन भोलि विहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त हुने भन्दै ढुंगाना र सिंहले सहभागी हुनको लागि सबै जेनजी, नागरिक समाज, विद्यार्थी, श्रमिक, बुद्धिजिवी तथा न्यायप्रेमी जनसमूदायमा अपिल गरेका छन् ।

उनीहरुले संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने पनि चेतावनी दिएका छन् । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि आफूहरुको संघर्ष जारी रहने उनीहरुको प्रतिबद्धता छ ।