महामन्त्री थापाको निकटतामा वडाअध्यक्ष ढकालको ठगी धन्दा, व्यक्तिदेखि सहकारीसम्म पीडित


काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता एवं नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष अचुत राज ढकाल अनौठो किसिमको ठगी कार्यमा संलग्न भएको तथ्य खुलेको छ । वडाअध्यक्ष ढकालले कांग्रेस महामन्त्री गगन थापासँगको निकटता देखाएर विभिन्न व्यक्तिहरुलाई विभिन्न बहानामा ठग्ने गरेको पाइएको हो ।

रिपोर्टर्स नेपाललाई प्राप्त विवरण अनुसार वडाअध्यक्ष ढकालले टोखा भगवती बचत तथा ऋण सहकारी संस्थाबाट सिन्धुपाल्चोक भोटेकोशी–४ की अम्बिका खड्काको नाममा कर्जा निकाली आफू जमानी बसेर अपचलन गरेको पाइएको छ । उक्त सहकारीले केही समय अगाडि कर्जा चुक्ता गर्न आउन ३५ दिनको सूचनासमेत निकालिसकेको छ ।

त्यसैगरी, उनी पटक–पटक बैंकिङ कसुर मुद्दामा पनि पक्राउ पर्दै छुट्दै गरेका छन् । यसअघि राजकुमार भण्डारीको जाहेरीले उनी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेको भोलिपल्टै रिहा भएका थिए । कांग्रेस महामन्त्री थापाको निकटता रहेकै कारण उनले बैंकिङ कसुरजस्तो अपराधमा पक्राउ परेको भोलिपल्टै मुक्त भएको चर्चा हुने गरेको छ ।

वडाअध्यक्ष ढकालले विभिन्न व्यक्तिहरुलाई विश्वास र प्रलोभनमा पारी पैसा लिने र फिर्ताको लागि ‘ब्याक डेट’ को चेक दिएर उनीहरुलाई हैरानी दिने गरेको समेत पाइएको छ । माथिबाटै संरक्षण पाएपछि नेता ढकालले विना रोकावट यस्ता प्रकारको गलत कार्यहरु गर्दै आएको पाइएको हो । उनीविरुद्ध उजुरी लिएर जाँदासमेत दर्ता नहुने समस्या रहेको र जसले गर्दा पीडितहरु झन पीडित हुने अवस्था आएको पाइएको छ ।