मदुरोमाथि ट्रम्पको दबाब


वासिङ्टन, ८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पत्तिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हालिरहेको सन्दर्भमा पत्रकारहरूले उहाँलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताए । ट्रम्पले ‘उनले त्यसो गर्नु बुद्धिमानी हुनेछ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिए । ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिए ।

यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेषगरी आर्थिक र सामाजिक चुनौती—मा ध्यान केन्द्रित गर्न सुझाव दिए । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिलाहरू सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राखे ।

यसैबीच, भेनेजुएलाका प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति ‘पूर्ण समर्थन’ दोहोर्‍याएको छ । युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले बढ्दो सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको पूर्वसन्ध्यामा आफ्नो समर्थन सार्वजनिक गरेको हो । रूसी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका समकक्षी इवान गिलबीच फोन वार्ता भएको थियो, जसमा अमेरिकी कारबाहीको कडा आलोचना गरिएको छ ।

रुसी पक्षले क्यारेबियन सागरमा अमेरिकी गतिविधि बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, वर्तमान परिस्थितिमा भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरिएको छ ।

अमेरिकाले सेप्टेम्बरदेखि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीको आरोप लगाउँदै डुङ्गामाथि आक्रमण थालेको जनाएको छ । तर, भेनेजुएलाका परिवार र सरकारका अनुसार ती कारबाहीमा १०० भन्दा बढी मानिस मारिएका छन्, जसमा निर्दोष माझीहरू पनि परेका छन् । पछिल्लो आक्रमणमा पूर्वी प्रशान्त महासागरमा रहेको एक सानो जहाजमा प्रहार हुँदा एकजनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

गत हप्ता ट्रम्पले भेनेजुएलाबाट आउने–जाने ‘प्रतिबन्धित तेल जहाज’ रोक्ने घोषणा गरेका थिए । उनले काराकासले तेलको आम्दानी लागुऔषध आतङ्कवाद, मानव बेचबिखन, हत्या र अपहरणमा प्रयोग गरिरहेको आरोप लगाए । यसको प्रतिउत्तरमा भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तन खोजेको र अन्तर्राष्ट्रिय पाइरेसी गरेको आरोप लगाएको छ ।

रुस र चीनले भेनेजुएलाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन् । मस्कोको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्च, विशेषगरी संयुक्त राष्ट्रसङ्घमा आपसी समन्वय बढाउने सहमति भएको उल्लेख छ ।

यसैक्रममा भेनेजुएलाका विदेशमन्त्री गिलले टेलिग्राममार्फत क्यारेबियन क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन, गैरन्यायिक हत्या र अमेरिकी समुद्री कारबाहीबारे छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार लाभ्रोभले भेनेजुएलाविरुद्धको शत्रुताको सामना गर्न रुसको पूर्ण समर्थन पुनः पुष्टि गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने भेनेजुएलालाई रुसले दिएको समर्थनलाई कम आँक्दै, रुस युक्रेन युद्धमा व्यस्त भएकाले वासिङ्टन चिन्तित नभएको टिप्पणी गरेका छन् । युक्रेन युद्धको समाधान नआउँदा ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेसँगै अमेरिका–रुस सम्बन्धमा तनाव देखिएको छ ।

यसै सन्दर्भमा, राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै पठाएको पत्र राज्य टेलिभिजनमा पढेर सुनाइएको छ, जसमा अमेरिकी नाकाबन्दीले विश्वव्यापी रूपमा तेल र ऊर्जाको आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ । रासस