जी.पी.कोइराला मेमोरियल क्याम्पसका प्रमुख अधिकारी र संयोजक बोहोराले महिला प्राध्यापकमाथि दुर्व्यवहार गरेको विषय छानविनको माग गर्दै तालाबन्दी


काठमाडौं, ८ पुस । जी.पी.कोइराला मेमोरियल कलेजका प्रमुख शिवप्रसाद अधिकारी र संयोजक डबल बहादुर (डिबी) बोहोराबाट कलेजमा अध्यापन गराउने महिला प्राध्यापकमाथि भएकाे लैङ्गिक हिंसाको छानविन गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी भएको छ । नेपाली राजनीतिका शिखर पुरुष तथा लोकतन्त्रका नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सम्मान तथा सम्झनामा स्थापित उक्त क्याम्पसमा महिला प्राध्यापकमाथि दुर्व्यबहार हुने गरेको तथ्य रिपोर्टर्स नेपालमा गत मंसिर १६ गते प्रकाशित भएकाे थियो ।

जी.पी. कलेज प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, जी.पी. कलेज पब्लिक क्याम्पस प्राध्यापक संघ र जी.पी. कलेज नेपाल राष्ट्रिय प्राध्यापक संगठनले प्रमुख अधिकारी र संयोजक बोहोरामाथि छानविनसहित विभिन्न ५ वटा शर्तहरु राखेर तालाबन्दी गरेकाे हाे । ‘रिपोर्टर्स नेपाललले लैङ्गिक, जातीय भेदभाव तथा दुर्व्यहारपूर्ण कार्यको र कजेलको दुई करोड ८६ लाखको बेरुजु तथा अनियमितताको विषयमा प्रकाशन गरेको समाचारको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने,’– शर्त नं. २ मा भनिएको छ ।

त्यस्तै, कलेजमा अध्यापनरत प्राध्यापक र कर्मचारीलाई नियुक्ति पत्रसहित सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्ने, अन्तर्राष्ट्रिय श्रम नियमानुसार एक व्यक्ति एक पद र एक समय गरी बढीमा ८ घण्टामात्र प्राध्यापक तथा कर्मचारीलाई काम लगाउनुपर्ने तीन प्राध्यापक संघको माग रहेको छ । पहुँचको भरमा जी.पी कलेजमा अहिले एृउटै व्यक्तिले विहान, दिन र बेलुकीको समयमा काम गर्ने गरेको स्रोतले बतायो ।

त्यस्तै, विभिन्न प्राध्यापकहरुमाथि सोधिएको स्पष्टीकरण तत्काल फिर्ता गरिनुपर्ने प्राध्यापक संघको माग छ । महिला हिंसा र बेरुजुको विषय रिपोर्टर्स नेपालले प्रकाशन गरेसँगै आरोपित क्याम्पस प्रमुख अधिकारीले सूचना दिएको आशंका गरी केही प्राध्यापकमाथि उल्टै स्पष्टीकरण सोधेका थिए । आरोप लागेका व्यक्ति पदबाट बाहिर बसेर छानविनमा सहयोग गर्नुपर्नेमा उनी आफैंले स्पष्टीकरण सोध्ने र सो अवधिसम्म अध्यापन नगराउन निर्देशन दिनेजस्ता लज्जाष्पद हर्कत गरेका थिए ।

साथै, जिपी कोइराला मेमोरियल क्याम्पसले प्राध्यापक तथा कर्मचारीको तलब रोकेको विषयलाई पनि तीन प्राध्यापक संघले चासोका साथ हेरेका छन् । उनीहरुले रोकिएको तलब तत्काल भुक्तानीका लागि भनेका छन् । कलेजमा रहेको बेथितिको अन्त्य गर्नका लागि शर्त पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्ः जी.पी. कोइराला मेमोरियल क्याम्पसका प्रमुख अधिकारी र संयोजक बोहोराबाट महिला प्राध्यापकमाथि दुर्व्यवहार, बाटो छेकेर बस्नेदेखि गाली बेइज्जतीपूर्ण हर्कत