काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राध्यापक मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने सार्वजनिक घोषणा गर्दै पार्टीभित्र नेतृत्व पुस्तान्तरण र राजनीतिक रूपान्तरणको स्पष्ट सन्देश दिएका छन् । आगामी फागुन २१ गते हुने संघीय निर्वाचनअन्तर्गत प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा कुनै पनि पदमा उम्मेदवार नबन्ने उनको निर्णयलाई जेन–जी आन्दोलनले उठाएको नयाँ नेतृत्वको मागप्रति सम्मानका रूपमा हेरिएको छ। ‘अब राजनीतिक अवसर युवा पुस्ताले लिनुपर्छ,’ भन्ने सन्देशसहित उनले संगठन सुदृढीकरण, नीति–बहस र भावी नेतृत्वको तयारीलाई आफ्नो प्राथमिकता रहने बताए ।
अर्घाखाँचीमा उम्मेदवार सिफारिस प्रक्रिया चलिरहेकै बेला जिल्ला कार्यसमितिको बैठकमा नेता विश्वकर्माले स्पष्ट धारणा राख्दै भने, ‘मलाई कुनै पनि लाभको पदमा सिफारिस नगर्नुहोस्। जिल्लाबाट नयाँ, योग्य र समर्पित उम्मेदवारलाई अघि सार्नुहोस्। पार्टीका उम्मेदवारलाई जिताउन मेरोतर्फबाट पूर्ण सहयोग रहने छ ।’
प्रभाव र हैसियत हुँदाहुँदै स्वेच्छाले उम्मेदवारी त्याग्ने यो निर्णयलाई कार्यकर्ता र नेताहरूले पद–केन्द्रित राजनीतिक संस्कृतिभन्दा माथि उठेको, आदर्श र सिद्धान्तमा आधारित अभ्यासका रूपमा लिएका छन्। दुई दशकभन्दा बढी समय केन्द्रीय राजनीतिमा सक्रिय नेता विश्वकर्मा २०६३ मा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्री, २०६४ मा संविधानसभा उम्मेदवार, २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिधिसभा समानुपातिक सदस्यका रूपमा जिम्मेवारी सम्हालेका थिए । पार्टीको ११औँ महाधिवेशनदेखि तीन कार्यकाल निर्वाचित केन्द्रीय सदस्य र १४औँ महाधिवेशनमा मनोनित केन्द्रीय सदस्य रहँदै उनले संगठन, प्रशिक्षण र नीति निर्माणमा दीर्घकालीन योगदान पुर्याएका छन् ।
गिरिजाप्रसाद कोइराला सभापति रहँदा केन्द्रीय प्रशिक्षण विभाग प्रमुखका रूपमा उनले क्याडर प्रशिक्षण र नीति–कार्यशालामा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । नेपाल दलित संघका संस्थापक सभापति समेत रहेका विश्वकर्माले दलित अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रका मुद्दामा सडकदेखि सदनसम्म निरन्तर आवाज उठाउँदै आएका छन् । पदमा नरहे पनि प्रशिक्षण, नीति–बहस, संगठन निर्माण तथा दलित, उत्पीडित र सीमान्तकृत समुदायको पक्षमा अग्रपंक्तिमै रहने उनको प्रतिबद्धता रहेको छ ।
उम्मेदवार बन्ने होड बढिरहेका बेला वरिष्ठ नेताले आफैं सरेर नयाँ पुस्ताका लागि स्थान खुला गर्नु ‘सत्ता भन्दा संस्था’ र ‘पद भन्दा सिद्धान्त’ रोज्ने उदाहरणका रूपमा लिइएको छ। कांग्रेसको नयाँ पुस्तालाई अग्रपंक्तिमा ल्याउने रणनीतिसँग मेल खाने यो निर्णयले संगठनभित्र सकारात्मक ऊर्जा सञ्चार गरेको छ। केन्द्रीय सदस्य प्रा. विश्वकर्माको यो कदमले कांग्रेसभित्र मात्र नभई समग्र लोकतान्त्रिक राजनीतिक संस्कृतिका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया