काठमाडौं, ८ पुस । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपाललगायतका व्यक्तिहरुमाथि भएको दुर्व्यहारको निन्दा गरेको छ । उपकुलपति डा.नेपाल, स्वकीय सचिव चोलेन्द्र रिजाल, कर्मचारी संघका पूर्वअध्यक्ष खिमबहादुर केसीलगायत व्यक्तिहरूमाथि अज्ञात समूहले कालो मसी छर्किएर दुर्व्यवहार गरेको थियो । उपकुलपतिमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको भन्दै नेविसंघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
‘शिक्षा क्षेत्र ज्ञान, मर्यादा र नैतिकताको आधारस्तम्भ हो । त्यस्तो पवित्र स्थलमा जिम्मेवार तथा सम्मानित व्यक्तिहरूमाथि गरिएको दुर्व्यवहार घोर निन्दनीय छ । यो केवल व्यक्तिको अपमान मात्र होइन, शैक्षिक प्रणाली तथा लोकतान्त्रिक मूल्यहरूमाथि सीधा आक्रमण हो । यस घटनाले शैक्षिक वातावरणलाई आतंकित बनाउने र शिक्षाको गुणस्तर नै धरापमा पार्ने गम्भीर खतरा उत्पन्न गरेको छ,’– नेविसंघका कार्यवाहक अध्यक्ष सञ्जिव खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कानूनबमोजिम कडा कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रशासनलाई नेविसंघले ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया