डा.केसीको सनसनीपूर्ण खुलासाः प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको रिमोर्ट तीन संस्थाको हातमा (भिडिओसहित)


काठमाडौं, ८ पुस । राजनीतिक विश्लेषक एवं प्रा.डा. सुरेन्द्र केसीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको रिमोर्ट अरुको हातमा रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान कार्की सरकारको रिमोर्ट बारबरा फाउन्डेसन, समता फाउन्डेसन, सेनाको मोनिटरिङमा बनेको सरकार भएकाले नेपाली सेनालगायतसँग रहेको आरोप लगाएका हुन् ।

‘यो सरकार त वास्तवमा सेनाले बनाएको हो । सेनाले तीन जनालाई स्टेक होल्डर बनाएको थियो । दुर्गा प्रसाईँ, जेन–जी र रास्वपा । तीनवटै सरकारमा छैनन् । अनि यो कसरी जेन–जीको सरकार हुन्छ ? यो सुशीला कार्कीको सरकार हो, जसको रिमोर्ट अरु कोहीसँग छ,’– उनले भने ।

उनले अहिलेको सरकार बन्नुमा अमेरिकाको ठूलो हात रहेको पनि दाबी गरे । प्रा.डा. केसीले अमेरिकाको सरकारको समर्थन रहेकै कारण नेपाल ब्ल्याक लिस्टमा पर्नबाट रोकिएको दाबी गरे । उनले भने, ‘अमेरिकाको सरकार नभएको भएदेखि त नेपाललाई ब्ल्याक लिस्टेड गरिहाल्थ्यो नि । मानवअधिकारको हनन्, प्रजातन्त्रको हत्या भइहाल्थ्यो नि । त्यो त भनेन कसैले । प्रजातन्त्रको योभन्दा डरलाग्दो हत्या त फेरि हुन सक्दैन ।’

उनले वर्तमान सरकारलाई शक्तिशाली सरकार भन्न नमिल्ने बताए । जेन–जीले बनाएको डमी सरकारको संज्ञा दिए । रगत बगाउने जेन–जीहरुको सहभागिता वर्तमान सरकारमा बञ्चित रहेको उनले बताए । प्रधानमन्त्री कार्की स्वयंले जेन–जीको मुद्दाहरु आफ्नो एजेण्डा नरहेको बताउँदै हिँडेको उनले बताए । वर्तमान सरकार चुनावी सरकार भएकाले यसले नियुक्ति, सरुवा, बढुवालगायत दीर्घकालीन असर पर्ने निर्णय गर्न नपाउने प्रा.डा.केसीको भनाइ छ ।

‘सरकारले पूर्णता पाइराखेको छैन । अहिले पनि बहुमन्त्रालय एउटै मन्त्री र प्रधानमन्त्रीले लिइराखेको स्थिति छ । उनीहरुले महत्वपूर्ण निर्णय गर्दै हिँडिराखेका छन् । दीर्घकालीन असर गर्ने महत्वपूर्ण निर्णय चुनावी सरकारले गर्न पाउँछ ? यहीँबाट बुझिन्छ नि यो चुनावी सरकार नै होइन । अनि कसरी चुनाव हुन्छ ? नियुक्ति नै गर्न पाउँदैन । सरुवा, बढुवा नै गर्न पाउँदैन,’– उनले भने ।

प्रा.डा. केसीले अहिले चुनावको वतावरण नै बनिनसकेको बताए । उनले यस्तो अवस्थामा आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरे ।