कांग्रेस निर्वाचनमा जान तयार छ, तर धाँधली गरेर जित्ने छुट कसैलाई छैनः शेखर कोइराला


काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्म जयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बर्ताएका हुन् ।

‘चुनावमा जान कांग्रेस तयार छ । शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ । पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन् । सात सयभन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन् । चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन । प्रहरीको मनोबल उच्च बनाउनुपर्छ,’– उनले भने ।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा.कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताए । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उनको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा.कोइरालाले बताए । उनले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताए ।

नेता डा कोइरालाले कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका नेताको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्नोतर्फबाट साथ र सहयोग हुने उल्लेख गरे । आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेनजी पुस्ताले पनि त्यही खोजेको उनको भनाइ थियो ।