भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास


काठमाडौं, पुस ९ । भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा गरेका हुन् ।

सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको रु चार करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ भवन तीन र आधा तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन।

धुर्कोट गाउँपालिका–३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग रु तीन करोड ८० लाखमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताएको छ । रासस