काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले अहिलेको आवश्यकता निर्वाचन नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको आवश्यकता संसद् पुनर्स्थापना रहेको बताएका हुन् । ‘निर्वाचन के–को लागि गर्ने अहिले ? किन गर्ने ? संविधानलाई यसरी नै मिचेर चाहिँ अगाडि बढ्दै जाने हो भने आउने निर्वाचनपछिको संसद् र सरकार त्यसैगरी जान्छ भन्ने निश्चित छ नि । यो अभ्यास हामीले कायम राख्यौं भने संसदीय पद्धतिलाई सुदृढ बनाउन सक्दैन,’– उनले भने ।
संसद् पुनर्स्थापना गरेर जेन–जीको माग पूरा गरेर अनिमात्रै निर्वाचनमा जानुपर्ने रहेछ भन्ने अहिले जेन–जीका प्रतिनिधिहरुले भनिराखेको उनले बताए । ‘अहिले अब जेन–जीका आवाजहरु पनि सुनिँदैछन् । अब हाम्रा मागहरु यसरी पूरा नहुने रहेछन् । संसद् पुनर्स्थापना गरेर हाम्रा मागहरु पूरा गरेर अनिमात्रै निर्वाचनमा जानुपर्ने रहेछ । होइन भने हाम्रो माग फेरि शुन्यमा झर्यो भन्ने कुरा त जेन–जीका प्रतिनिधिहरुले भनेको सुनिँदै छ । हामीले पनि त्यही भनेको । संसद् पुनर्स्थापना गरेर संविधान संशोधनको माध्यमबाट उनीहरुको माग सम्बोधन गरिनुपर्छ,’– उनले भने ।
निर्वाचन गराउने गरी राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णय सर्वथा गलत रहेको उनको दाबी छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुको थलो संसद्लाई असंवैधानिक ढंगले विघटन गरिएको र त्यसलाई स्वीकार गर्न नसकिने उनले बताए । संसद् पुरन्स्थापनाको पक्षमा परेको रिटको वैधानिक निरुपण आवश्यक रहेको उनले बताए । नेता घिमिरेले पार्टीले नै यो सरकार र संसद् विघटन असंवैधानिक रहेको निष्कर्ष निकालेको बताए । यसको संवैधानिक परीक्षण हुन आवश्यक रहेको उनको भनाइ छ ।
नेपालको संविधान–२०७२ राखेर धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त हुनै नसक्ने उनको दाबी छ । त्यसरी प्रधानमन्त्री नियुक्त गर्नका लागि अहिलेको संविधान खारेज गरेर अन्तरिम संविधानको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले संविधानको धारा नै उल्लेख नगरी गरिएको संसद् विघटनलाई प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको उनको आरोप छ ।




प्रतिक्रिया