रास्वपाबाट अबको प्रधानमन्त्री बालेन शाह नै होः असीम शाह (भिडिओसहित)


काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं पूर्व सांसद् असीम शाहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सहकार्यको ढोका खुलेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता शाहले बालेन राष्ट्रिय राजनीतिमा आउँदा रास्वपाले अंगालो मारेर स्वागत गर्ने सन्देश दुई जनाबीचको भेटमा गएको बताए ।

‘बालेन शाह राष्ट्रिय राजनीतिमा आउँदाखेरि आउनुस् । उमेरको हिसाबले पनि बालेन रविको भाइ नै हो । हामी अंगालो मारेर स्वागत गर्न तयार छौं, यो राजनीतिक यात्रासँगै तय गरौं, कसरी गर्न सकिन्छ भनेर हामीले एकअर्काका इन्ट्रेस्ट जान्ने कुरा गर्यौं,’– लामिछानेको बारेमा उल्लेख गर्दै नेता शाहले भने ।

उनले पार्टी सभापति लामिछानेमाथि अहिले विभिन्न मुद्दा र अड्चन रहेको बताउँदै अब रास्वपाले सिफारिस गर्ने प्रधानमन्त्री बालेन शाह नै रहेको बताए । लामिछानेले निर्वाचन जितेर सांसद बने पनि संसद्मा जाने र प्रधानमन्त्री बन्ने कुरामा निकै बाधा, अड्चनहरु कायमै रहेको बताए । ‘हाम्रो पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निस्किन धेरै समय लाग्छ । उहाँ निर्वाचित हुन सक्नुहोला, सांसद बन्न सक्नुहोला । तर, सदनमा प्रवेश गर्ने कुरा, त्यसपछि प्रधानमन्त्री बन्ने कुरामा त कानूनी अड्चनहरु छ । नहुँदाखेरी त्यसपछि बालेन शाह नै हो,’– उनले भने ।