काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भएकाले भेटले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । बालेन र रविबीच भएका सम्भावित कुराकानीहरुको अनेकौं अनुमान लाइएको छ । तर, आधिकारिक रुपमा के कुरा भएको हो भन्ने बारेमा रवि–बालेन कसैले पनि मुख खोलेका छैनन् । यद्यपि रास्वपाका नेता एवं पूर्व सांसद् असीम शाहले भने रवि र बालेनबीच भएको संवादबारे बोलेका छन् ।
नेता शाहका अनुसार रवि र बालेनबीच आफू–आफूले चलाउन खोजेको देशबारे छलफल भएको थियो । नेता शाहका अनुसार सो भेटमा रविले बालेनलाई दुईवटा अफर गरेका छन् । पहिलो अफर रास्वपाको सभापति बन्ने र दोस्रो अफरमा देशको प्रधानमन्त्री बन्ने रहेको नेता शाहले बताए । उनले बालेन रास्वपामा आउँदै गर्दा रविले पार्टी सञ्चालन गर्ने र सरकार सञ्चालनको जिम्मा बने बालेनलाई नै दिइने बताए ।
‘उहाँहरु दुई जनाबीचमा मैले चलाउन खोजेको देश यसरी हो भनेर, पार्टी सभापति भएर पनि चलाउन सक्नुहुन्छ, पार्टी सभापति चलाउनु हुन्छ त ? भन्दाखेरी उहाँहरुबीच दुई चारवटा कुरा भयो । एक जनाले पार्टी चलाउने, एक जनाले सरकार चलाउने भन्नेखालका कुराहरु पनि भए । हामीले अहिले सोचेको, बालेन शाह प्रधानमन्त्री, पार्टी रवि दाईले चलाउने भन्ने आयामहरुमा पनि कुराकानी भए,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता शाहले भने ।




प्रतिक्रिया