काठमाडौं, ९ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकार संवैधानिक रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले वर्तमान सरकार संविधानको धारा ६१ को ३ र ४ प्रयोग भएर बनेको बताए । जसमा संविधानले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउमा सबै शक्ति लगाउन पाउने गरी बनेको संविधानको मर्मअनुसार यो सरकार बनेको उनको दाबी छ ।
साथै, उनले प्रतिनिधिसभा पनि राजनीतिक दलको सहमतिको आधारमा विघटन भएको बताए । उनले जेन–जी आन्दोलनको परिणामपछि संविधानमा कुनै क्षति नभएको पनि बताए । संविधानमा कसैले औंला ठड्याउन ठाउँ नरहेको बताए । ‘यो संविधान बचाउनको निम्ति पनि सर्वदलीय राजनीतिक पार्टीको सहमतिमा लामो छलफलपछि यो सरकार बनेको थियो । यस कारण संविधानमा कसैले औंला ठड्याउने ठाउँ छैन,’– उनले भने ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने विषय राष्ट्रपति, प्रधानमन्त्री र जेन–जीमात्रै नभएर सबै दलको सहमतिमा निर्णय भएको उनको दाबी छ । ‘निर्वाचनको घोषणा पनि सहमतिको साथ अगाडि बढाएका हौं । देशका प्रमुख राजनीतिक दलको उपस्थितिमा सहमति थियो । अहिले निर्वाचनबाहेक अरु विकल्प देखिँदैन,’– उनले भने ।
उनले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने बताए । अब राजनीतिक दलहरुले ध्यान पुर्याउनु पर्ने कुरा जेन–जी आन्दोलनले उठाएको मुद्दाको सम्बोधन गर्दै देशलाई समृद्धिको दिशातिर लानुपर्ने उनले बताए । उनले सबै राजनीतिक दलले दम्भ र अहङ्कार त्यागेर जनताको भावना बुझ्नेतिर जानुपर्ने बताए ।
नेतामा दम्भ पलाएको र जनता बिर्सिएको कारण पनि जेन–जी आन्दोलनजस्तो अहिलेको अवस्था आएको उनले बताए । उनले जेन–जीलाई समेत साथमा लिएर राजनीतिक दलहरु अगाडि बढ्नु्पर्ने आवश्यकता औंल्याए ।




प्रतिक्रिया