ब्रिटिस कलेजको ठगी धन्दाः बीएचएमका ५० जनाभन्दा बढी विद्यार्थी अलपत्र, नेविसंघले गरायो ध्यानाकर्षण


काठमाडौं, ९ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ब्रिटिस कलेज थापाथलीमा विद्यार्थीहरुको न्यायको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय सदस्य मात्रिका प्रसाद उपाध्यायको नेतृत्वमा आज नेविसंघले ब्रिटिस कलेजलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुको न्यायका लागि ध्यानाकर्षण गराएको हो ।

ब्रिटिस कलेज थापाथलीले बि.एचं.एम. का ५० जनाभन्दा धेरै विद्यार्थीलाई अलपत्र पारेको विषय हाल चर्चामा रहेको छ । ब्रिटिस कलेजले ३ बर्षे बीएचएम कोर्शलाई ४ वर्षे भनेर अध्यापन गराएको थियो । कलेजले सो क्रममा विद्यार्थीहरुलाई इन्टर्न गर्नका लागि भनेर दुवइमा पठाएर अलपत्र पारेको समेत बताइएको छ ।

विद्यार्थीहरुलाई दुवइमा पठाएर त्यहाँ अलपत्र पारिएको, उनीहरुले इन्टर्न गर्नसमेत नपाएको र इन्टर्न गर्नका लागि भनेर मात्रै कलेजले प्रतिव्यक्ति ९ लाख रुपैयाँ लिएको थियो । दुवइमा ३ महिना अलपत्र परेको विद्यार्थीहरुले प्रतिव्यक्ति १८ लाखभन्दा बढी खर्च गर्नुपरेको र इन्टर्न पनि नभएको बताइएको छ ।

ब्रिटिस कलेजले अहिले ती पीडित विद्यार्थीहरुलाई धम्क्याउने, डर देखाउने, जबरजस्ती सहमति पत्रमा हस्ताक्षर गर्न लगाउनेजस्ता कामहरु निरन्तर गर्र्दै आइरहेको एक पीडित विद्यार्थीले बताए । हाल ब्रिटिस कलेजले बीएचएम कोर्श पनि हटाएको र ती विद्यार्थीहरुको भविष्य डामाडोल पार्दिएको छ ।

साथै, ब्रिटिस कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई अर्को कलेजको प्रमाणपत्र उपलब्ध गराइएकोसमेत तथ्य फेला परेको छ । ज्ञापन पत्र बुझाउँदै नेविसंघले पीडित विद्यार्थीहरुलाई न्याय र कम्याम्पस प्रमुखको राजीनामा माग गरेका छन् ।