पर्वले सामूहिक भावना र सद्भावलाई मजबुत बनाएका छन् : कावा सभापति खड्का


काठमाडौं, १० पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै एकता र मेलमिलापको वातावरण सिर्जना गर्न पर्वले भूमिका खेलिरहेका उल्लेख गरे ।

“यिनै विविधताभित्र मनाइने यहाँका विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहिआएको छ”, कावा सभापति खड्काले सन्देशमा उल्लेख गरेका छन् ।

उनले ‘क्रिसमस डे’ का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।