काठमाडौं, १० पुस । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गतेको निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने बताएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दल र शक्तिसँग भने गठबन्धन वा चुनावी तालमेलको ढोका खुला नै राखेको नेता हितबहादुर तामाङ बताउँछन् । नेता तामाङका अनुसार पार्टीका संयोजक प्रचण्डले कांग्रेस, एमाले र राप्रपासँग भने चुनावी गठबन्धन र तालमेल हुन नसक्ने ब्रिफिङ गरिसकेका छन् । चुनावी तालमेल र गठबन्धन हुन सक्ने दल वा शक्तिहरुको लिस्टमा प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपा, बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङलाई प्राथमिकतामा राखेका छन् ।
‘पुराना भनिएका ठूला दलहरुसँग त हाम्रो गठबन्धन हुने सम्भावना छैन, त्यो त हामी गर्दैनौं । एमालेसँग त धेरै परको कुरा, कांग्रेससँग पनि गर्दैनौं । तर, निरपेक्ष रुपमा ती दुई पार्टीबाहेक नयाँहरुसँग घोषित वा अघोषित गठबन्धन हुन सक्छ । राप्रपासँग पनि हाम्रो गठबन्धन आजसम्म भएको छैन, गठबन्धन हुँदैन । नयाँहरु बीचमा हुन पनि सक्ला । नयाँ एजेण्डा मिल्ने कुनै पनि दलसँग हुन सक्छ । कुलमान घिसिङसँग पनि हुन सक्छ । मैले सम्भावनाको कुरा गरिराखेको छु । हर्क सम्पाङ, बालेन शाह, रवि लामिछानेसँग, नयाँसँग हुन सक्छ,’–नेता तामाङले भने ।
साथै, नेता तामाङले आफूहरुको बटमलाइन चुनाव रहेको र आफूहरु चुनावको लागि तयउार रहेको बताए । अहिले निर्वाचनको विकल्प नै नरहेको उनको जिकिर छ । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको एजेण्डा भनेको चुनाव गराउनु नै रहेको बताए । उनले अब चुनावमा जानुपर्ने र जेन–जीहरुको मागलाई नजरअन्दाज गर्न नहुने बताए ।
‘हाम्रो पार्टीको बटमलाइन निर्वाचन हो । निर्वाचनको लागि हामी तयार छौं । हामी चाहन्छौं– निर्वाचन गर्नैपर्छ । निर्वाचनको विकल्प अहिले हामीले देखिराखेका छैनौं । संसद्् विघटन भएको स्थिति छ । अहिलेको सरकारको एकल एजेण्डा भनेको निर्वाचन हो । हामीले निर्वाचन नै विकल्प हो, भनेको बेलामा गरिनुपर्छ । जेन–जी युवाहरुको मागलाई नजरअन्दाज गर्ने, जेन–जी युवाहरुको आवाजलाई केही पनि होइन भन्ने हिसाबले जाने हो भने फेरि पनि राजनीतिक दल र नेताहरुले चेतेका रहेनछन् भन्ने निर्क्यौलमा पुग्नुपर्नेै हुन्छ,’– उनले भने ।
साथै, नेता तामाङले अहिले आफूहरुको प्राथमिकता सरकार नरहेको पनि बताए । उनले अहिले आफूहरुले सरकारमा जाने कुरालाई प्राथमिकतामा नराखेको र निर्वाचनपछि प्राप्त जनादेशको आधारमा निर्णयमा पुग्ने बताए । ‘हामी सशीला कार्की नेतृत्वको सरकारमा रहन चाहँदैनौं । सरकारमा जाने कुरालाई हामीले महत्व दिएका छैनौं । सरकारले जेन–जी आन्दोलनको क्रममा भएको क्षतिको छानविन गर्ने र निर्वाचनको काममा अगाडि बढ्ने कुरामा हाम्रो पूर्ण समर्थन रहेको छ । हाम्रो पार्टीको तर्फबाट सरकारमा जाने कुरा गरेकै छैन । हामी आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने स्थिति आएछ भने पनि तत्काल सरकारमा नजाने भन्दै आएका छौं,’– उनले भने ।




प्रतिक्रिया