बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै


बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत (ओर्गान म्युजिक) को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गरे ।

धर्मोपदेशमा उनले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिदैँ क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताए । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उनले भने । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उनले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताए ।

उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिनुहुँदै विश्वभर २४ घण्टाको शान्तिको आह्वान गरे । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गरे ।

बेथलेहेमको म्याङ्गर स्क्वायरमा ड्रम र ब्यागपाइपको धुन गुञ्जियो । युवा तथा वृद्ध इसाई श्रद्धालुहरू नाचगानसहित स्क्वायरमा भेला भए । १७ वर्षीया मिलाग्रोस अन्स्टासले युद्धका कारण लामो समय उत्सव मनाउन नपाएको पीडा सम्झँदै यस वर्षको खुसी विशेष भएको बताए ।

सहरका साँघुरा सडकमा परेड निकालियो, सान्ता क्लजको वेशमा मानिसहरूले बालबालिकालाई मिठाइ र खेलौना बाँडे । साँझ पर्नासाथ बहुरङ्गी बत्ती र विशाल क्रिसमस ट्रीले चर्च अफ द नेटिभिटी वरिपरि उज्यालो छर्‍यो । चौथो शताब्दीमा निर्माण भएको यो बेसिलिका इसाईहरूको लागि अत्यन्तै पवित्र मानिन्छ ।

स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भने ।

इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भने ।

यसैबीच सिरियाको दमास्कसमा पनि सुरक्षा चिन्ताबीच क्रिसमस बत्तीले पुरानो सहर झलमलाएको थियो । विश्वका अन्य भागहरूमा पनि परिवारहरू क्रिसमसको पूर्वसन्ध्यामा भेला भए । यद्यपि कतिपय स्थानमा हालैका हिंसात्मक घटनाले शोकपूर्ण वातावरण पनि देखियो, तर समग्रमा क्रिसमसले संसारभर आशा, एकता र शान्तिको कामना बोकेको सन्देश फैलाएको छ । रासस