बालेन–रवि एक्लाएक्लै भेटवार्ता जारी, सुधन थपिँदै


काठमाडौं, १० पुष । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहबीच भेटवार्ता जारी छ । बालेनका राजनीतिक सहयोगीसमेत रहेका कुमार बेनको ललितपुरको कुपण्डोलमा रहेको निवासमा दुई नेताबीच भेटवार्ता जारी छ । रवि कारागारबाट रिहा भएपछि यो तेस्रो पटकको भेट हो । यसअघि दुई नेताबीच रास्वपाका नेता अषिम शाहको कमलपोखरीमा रहेको कार्यालयमा ६ घण्टा लामो भेटवार्ता भएको थियो ।

बालेनले हिजोबाट एकाएक राजनीतिक सक्रियता बढाएका छन् । उनले विहानै कुलमान घिसिङ, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, कांग्रेस नेता डा. सुनिल शर्मासँगपनि छलफल गरेका थिए । शर्माले भने आफूले बालनेसँगको भेटमा प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ? भनेर जिज्ञासा राखेको प्रतिक्रिया दिए ।

सो क्रममा उनले आफू १० वर्षपछि कांग्रेसको सभापति भएको भन्दै पार्टी छोड्ने कुरा नभएको पनि टिप्पणी गरे । शर्मा निस्किएपछि रविको प्रवेश भएको हो । रवि गणेश कार्कीलगायत लिएर कुमारको घरमा पुगेका थिए । तर, वार्तामा भने रवि र बालेनमात्रै सहभागी छन् । बालेनले अहिले केहीबेरमा हामी नेपालीका संयोजक सुधन गुरुङसँगपनि भेटवार्ता गर्ने भएका छन् ।