प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेलको षड्यन्त्रमा परिन्ः नागरिक समाजका अगुवा दीक्षित (भिडिओसहित)


काठमाडौं, १० पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले अब नेपाल प्रत्यक्ष कार्यकारीको व्यवस्थामा जानुको विकल्प नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय व्यवस्था असफल भइसकेको र एकमात्रै विकल्प प्रत्यक्ष कार्यकारी व्यवस्था रहेको बताएका हुन् ।

नागरिक समाजका अगुवा दीक्षितले राष्ट्रपति रामचन्द्र पौडेलको षड्यन्त्रमा परेर प्रधानमन्त्री सुशीला कार्की पनि सिद्दिएको टिप्पणी गरे । कार्कीले वर्तमान संविधानबाट शपथ खाएर प्रधानमन्त्री बन्नु नै गलत रहेको उनको भनाइ छ । कार्कीले यो संविधानबाट शपथ खान्न भनेर अड्डी कसेको भए त्यो बेलामा राष्ट्रपति पौडेलले बाध्य भएर अन्तरिम संविधानको पक्षमा उभिनुपर्नेमा उनले षड्यन्त्र गरेको दीक्षितको आरोप छ ।

‘उनले अन्तरिम संविधानमा गएको भए कति ठूलो काम गर्न सक्थिन् । यही संविधानमा टेकेर प्रधानमन्त्री भइहालिन् । यो संविधानमा टेकेर शपथ खाएपछि म केही पनि गर्न सक्दिनँ । म प्रधानमन्त्री बन्दिन भनेर पहिले नै भन्न सक्नुपर्थ्यो । राष्ट्रपतिले षड्यन्त्र गरे, उनले खुसुक्क मानिन् । उनले भोलिपल्टै भनिन्– मेरो काम त चुनाव गराउने, कुनै काम गर्न सक्दिनँ भनिन्,’– उनले भने ।

साथै, उनले प्रधानमन्त्री कार्की, राष्ट्रपति पौडेल र तीन दलका शीर्ष नेताबीच भएको भेटवार्ताबारे उनले आपत्ति जनाए । सो क्रममा नयाँ दललाई स्थान नदिइएको उनले बताए । रवि, हर्क, नागरिक समाजका अगुवा, जेन–जीलगायतलाई सो मिटिङमा सहभागी नगराएर पुरानै टाउकेसँग प्रधानमन्त्री कार्कीले साँठगाँठ गरेको उनको आरोप छ । प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलले फेरि अर्को षड्यन्त्र रचिरहेको उनको आरोप छ ।