ओली, देउवा र प्रचण्डलाई राष्ट्रपति पौडेलको सरप्राइजः सुटुक्क आईन् प्रधानमन्त्री कार्की


काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरुलाई थाहै नदिई शीलत निवासको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाएको बताएका छन् । एमालेनिकट स्वयंसेवकहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शीतल निवासमा राष्ट्रपति पौडेलले आमन्त्रण गरेको बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू गएको र सो क्रममा प्रधानमन्त्री कार्कीलाई पनि सुटुक्क बोलाइएको बताएका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलको जोड चुनावतर्फ रहेको पनि उनले बताए । तीन दलका शीर्ष नेताहरुले सो क्रममा चुनाव अग्रगमनको बाटो नरहेको बताएको पनि अध्यक्ष ओलीको दाबी छ । अध्यक्ष अ‍ोलीले अहिलेको सरकार असंवैधानिक ढंगले बनेको र आफूहरुले चुनावको विरोध गरेको नभएर केवल प्रतिगमनको विरोध गरेको बताएको पनि सुनाए ।

उनले भने, ‘अस्तीका दिन राष्ट्रपतिजीले आमन्त्रण गर्नुभएको थियो । शेरबहादुरजी, प्रचण्डजी र म गएका थियौं । प्रधानमन्त्रीजीलाई पनि बोलाउनुभएको रहेछ । आउनुभएको थियो । राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले भन्यौं– यो अग्रगमनको बाटो गएको छैन । प्रतिगमन भएको छ । असंवैधानिक ढंगले सरकार बनेको छ । तर, पनि चुनाव विरोधी हामी होइनौं, प्रतिगमन विरोधी हौं । सकेसम्म छिटो संसद्को उपस्थिति चाहिन्छ । त्यसकारण हामीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छौं ।’

राष्ट्रपति र प्रधानमन्त्रीले चुनाव गराउने भनेको र आफूहरुले पनि चुनाव नगराउनुस् नभनेको उनले बताए । तर, चुनावको वातावरण भने बनाउन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष अ‍ोलीले अहिले चुनावको वातावरण नै नरहेको, विभिन्न ठाउँमा नेताहरुमाथि आक्रमण हुने गरेको, प्रतिबन्ध लगाइएको, समाजिक सञ्जालमा भ्रम फैलाइएको र जेन–जीको नाममा बच्चाबच्चीलाई झैं त्रास देखाउने काम भइरहेको बताए ।

‘हामीले चुनाव नगराउनुस् भनेको छैन । तर, वातावरण बनाउनुस् भनेका छौं । खोई वातावरण बनाएको ? वातावरण बन्ने लक्षण छैन । अहिले पनि विभिन्न ठाउँमा आक्रमण हुने, नेताहरुमाथि प्रतिबन्ध, सामाजिक सञ्जालहरुबाट दुष्प्रचार भइरहेको छ । त्रास खडा गर्ने वातावरण बनेको छ । जेन–जीको नाममा बच्चाबच्चीलाई त्रास देखाएजस्तो, जेन–जी आउँछ, लौ जेन–जी । जेन–जीले तर्साउँछ भनेर कुनै आकार प्रकार केही नभएको हाम्रा नव युवाको नाममा केही छट्टु टाठाबाठाहरुले खाने गरेका छन्,’– उनले भने ।