महामन्त्रीमा लड्ने प्रदीप पौडेलको घोषणा


काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको आसन्न १५औं महाधिवेशनमा आफू महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका छन् । १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका पौडेलले यसपटकपनि महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका हुन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भने,‘म १४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन, महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’

१४औं महाधिवेशनमा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । दुई महामन्त्रीमध्ये थापाले सभापतिमा उठ्ने घोषणा गरेका छन् । अर्का महामन्त्री शर्माले भने अहिलेसम्म केही घोषणा गरेका छैनन् । तर, उनले सभापतिमा थापालाई सघाउने सार्वजनिक रुपमा बोलिसकेका छन् ।