मायाहोल्डले लुम्बिनी मेडिकल कलेजको सेयर खरिद गरेपछि दिनेश सिलवाल अध्यक्ष


पाल्पा, ११ पुस । पाल्पाको तानसेन- ७, प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको सेयर संरचनामा फेरबदल भएको छ। कलेजका शेयरधनीहरूको अधिकतम सेयर मायाहोल्ड प्राइभेट लिमिटेड, काठमाडौंले खरिद गरेसँगै संस्थामा नयाँ नेतृत्व आएको हो ।

२०८२ साल पौष ५ गते सम्पन्न कलेजको २०औँ वार्षिक साधारण सभाबाट मायाहोल्डले संस्थागत प्रतिनिधित्वसहित कलेजको व्यवस्थापन सम्हालेको छ। सोही सभाबाट दिनेश सिलवाल अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

नयाँ सञ्चालक समितिमा डा. बलभद्र अधिकारी प्रबन्ध निर्देशक नियुक्त भएका छन् भने निर्दोष खनाल, दिवेश लोहनी र गोविन्द गौतम उपाध्याय निर्देशकका रूपमा चयन भएका छन् ।

२०६२ सालमा स्थापना भएको लुम्बिनी मेडिकल कलेजले पहाडी जिल्ला पाल्पाको ऐतिहासिक पृष्ठभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। कलेजमा स्नातकोत्तर तहअन्तर्गत एमडी/एमएस तथा स्नातक तहमा एमबीबीएस र बीएससी नर्सिङ कार्यक्रम सञ्चालनमा छन्, जहाँ हाल सयौँ विद्यार्थी अध्ययनरत छन् ।

स्वास्थ्य सेवातर्फ कलेजले दैनिक बहिरंग विभागमार्फत ५०० भन्दा बढी बिरामीलाई उपचार सेवा दिँदै आएको छ। साथै ५०० शय्याको अन्तरंग विभागमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नयाँ व्यवस्थापनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम विस्तार गर्ने र विशिष्टिकृत स्वास्थ्य सेवाहरू थप्ने योजना अघि सारेको जनाएको छ। कलेजलाई देशकै गुणस्तरीय शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि बढाइएको कलेजले जानकारी दिएको छ ।

यसबाट पाल्पासहित आसपासका जिल्लाको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
कलेजले स्थापना कालदेखि हालसम्म संस्थालाई यहाँसम्म पुर्‍याउन योगदान दिने संस्थापक अध्यक्ष, पूर्व सञ्चालक, सेयरधनी, विद्यार्थी, अभिभावक, सरकारी तथा गैरसरकारी निकाय, जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, चिकित्सक, प्राध्यापक तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।