बालेनले जितेपछि रविको रास्वपा जन्मिएको हो, त्यसैले प्रधानमन्त्रीको हकदार बालेन नै हुन्ः मिलन पाण्डे (भिडिओसहित)


काठमाडौं, ११ पुुस । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेभन्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नै प्रधानमन्त्रीको उम्मेदवारको हकदार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पाण्डेले बालेनले स्वतन्त्र उम्मेदवारी दिएर जितेपछिमात्रै रविले रास्वपा पार्टी खोलेर राजनीतिमा आएको बताए । त्यसकारण पनि पहिलो हकदार बालेन रहेको उनको भनाइ छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम नै स्वतन्त्र उम्मेदवार बनेर जितेका बालेन शाहले जितेपछि बनेको पार्टी हो । नामै त्यसरी आएको हो भन्न लाग्छ मलाई । यदि बालेन शाह स्वतन्त्र हुँदैन थिएभने रास्वपा जन्मिँदैन थियो । यदि बालेन शाहले जितेका थिएनन् भने रवि लामिछाने राजनीतिमा आउनुहुन्थ्यो वा आउनुहुँदैन थियो भन्ने प्रश्न पनि छ । त्यही भएर रविजीको प्रस्ताव स्वभाविक हो,’– उनले भने ।

साथै, भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि पनि सिंगो देश र युवाहरुले बालेनलाई खोजेको उनको दाबी छ । उनले बालेनको मार्गमा हिँड्नुपर्ने आवश्यकता औंल्याउँदै कतिपय राष्ट्रिय मिडियाले सम्पादकीयसमेत लेखेको बताए । एकपटक प्रधानमन्त्री पदको उम्मेदवारको स्वभाविक हकदार बालेन नै रहेको उनको दाबी छ ।

‘भदौ २३ र २४ गतेपछि जे भयो र त्यहाँ जो जानुभएको थियो, त्यसको सेरोफेर र सामाजिक सञ्जालदेखि लिएर सडक हेर्दाखेरी सबैले बालेन मागेका थिए । बालेन–बालेन भनेका थिए । नेपालको मूलधार मिडियादेखि लिएर आम नागरिकसम्मले बालेन आउ, बालेन आउ भनेर लेखका थिए । कति मिडियाले त सम्पादकीय नै लेखेका थिए । एकचोटीको स्वभाविक हकदार चाहिँ बालेन हो,’– उनले भने ।

उनले नयाँ दल र नयाँ शक्तिहरु मिल्दा अहिलेको अवस्थामै बहुमत आउनसक्ने अवस्था रहेको दाबी गरे । रवि र बालेनबीच को पहिला प्रधानमन्त्री भन्ने विवाद भयो भने उनीहरु पनि केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै लाइनमा हिँडेको पुष्टि हुने उनले बताए ।