काँक्रेविहार (सुर्खेत), ११ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरेर दोस्रो चरणको काम सुरु गर्न लागिएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर एकाइ कार्यालयले प्याकेज–२ (दोस्रो चरण) का लागि ग्लोबल बोलपत्र खुलाएसँगै कामले तीव्रता पाएको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताए ।
विसं २०८१ भदौ १३ गते एकाइ कार्यालय सुर्खेतले पहिलो चरणको कामका लागि चिनियाँ सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन कम्पनीसँग सम्झौता गरेको थियो । तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड आठ लाखको लागतमा सम्झौता भई काम अघि बढेको थियो ।
नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजनाअन्तर्गत कार्यान्वयन गरिरहेको यो आयोजनाले वीरेन्द्रनगरका पाँच लाख स्थानीयलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य लिएको आयोजना प्रमुख शाहले जानकारी दिए ।
उनका अनुसार प्याकेज–२ मा ८०० किलोमिटर लम्बाइको पानी वितरण गर्ने लाइन निर्माण, झुर्पामा खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडान गर्न बोलपत्र आह्वान भएको छ ।
इत्राम क्षेत्रमा एक हजार ५०० घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वाचालित डाटा सङ्कलन प्रणाली जडानका काम दोस्रो चरणमा गरिनेछ । पहिलो चरणमा संरचना निर्माण भइरहेको छ ।
“आयोजना निर्माणस्थलमा रहेका चार सामुदायिक वनमध्ये दुई वटामा रुख कटानको काम पूरा भएको छ, भने अन्य दुईमा रुख कटान भइरहेको छ । सामुदायिक वनमा सात किलोमिटर पाइप लाइन निर्माण गर्न छिट्टै रुख कटानको काम सुरु गरिनेछ”, शाहले भने । आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माण सुरु हुन लागेको उनको भनाइ छ ।
मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृतडाँडामा तीन वटा मुख्य ट्याङ्की निर्माण सुरु भएको शालले जानकारी दिए । “आयोजनाको मुहानसम्म पहुँचमार्ग निर्माण पनि अघि बढाउन लागिएको छ । पानी वितरणका लागि ३४ किलोमिटर पाइप लाइन विछ्याउनुपर्नेमा हालसम्म २३ किमीको ठेक्का लागेर १२ किमीमा पाइप लाइन विस्तार सम्पन्न भएको छ”, उनले भने ।
प्रदेश राजधानीमा बढदै गएको जनघनत्वलाई मध्यनजर गर्दै खानेपानीको आयोजना निर्माण गर्न लागिएको छ । हाल वीरेन्द्रनगरमा भूमिगत पानी तथा अन्य साना खानेपानीका आयोजनाबाट राजधानीवासीले पानी उपभोग गरिरहेका छन् । तीन तहका सरकारको संयुक्त पहलमा यो काम सुरु भएको छ ।
तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले उक्त आयोजनामा प्रदेश सरकारको पनि लगानी गर्न पहिलोपटक पहल गरेका थिए । उनले विश्व बैंकको वित्तीय सहयोग लिनका लागि पनि पहल गरेका थिए । सो समयमा सल्यान सदरमुकाम र सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहमति दिएको थियो । रासस




प्रतिक्रिया