आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’बाजा


लुम्बिनी, १२ पुस। कुनै समय तराई–मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभ कार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ ।

“समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई बिस्तारै मधुरो बनाउँदै लगेको छ,” लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भने, “लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुख अवस्थामा छ ।”

‘डफला’ नेपालमा अवध (मधेस) कोविशिष्ट पहिचान बोकेको एउटा प्राचीन र मौलिक ताल बाजा हो । यसको बनावटमा जति सादगी देखिन्छ, ध्वनि त्यति नै गम्भीर र मिठासपूर्ण हुन्छ । यो वाद्य यन्त्र खासगरी सिसौ वा कर्माको काठलाई गोलाकार घेरा (फ्रेम) बनाएर तयार पारिन्छ ।

डफलाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुईवटा पातला लट्ठी (स्टिक) को सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ । यो मुख्यतया उल्लास, बिरह र बीरगाथा गायनमामा प्रयोगहुने मौलिक–सांस्कृतिक बाजा हो । डफलाको जीवन्त सम्बन्ध विशेषगरी होली, दीपावली र पञ्चमीलगायत अवध मधेसको संस्कृति र विभिन्न पर्वसँगपनि गाँसिएको छ ।

वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ (फागु गीत) गाउने परम्पराले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ । “डफला’, ‘डफ’ वा ‘डफली’ बिशेषगरीदलित समुदायभित्रका चमार र धरिकारआदिको जातिय पहिचानसँग सम्बन्धित एक विशिष्ट तालवाद्य यन्त्र हो”, मोछू चमारले भने, “जसलाई हामीले आफ्नो चाडपर्व, विवाह एव सांस्कृतिक उत्सवमा मुख्य बाजाको रूपमा प्रयोग गर्दछौँ ।”

लुम्बिनी सांस्कृतिक बिरहा समुहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्तिको कथा आध्यात्मिक छ । उनले भने, “हाम्रा पुर्खाले सुनाएअनुसार ‘डफला’ भगवान् शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो । जब भगवान् शिवले ताण्डव नृत्य गर्नुभयो, त्यसको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार ‘डफला’ बाजा बनाइएको हो ।”

अर्का वादक चिट्टू चमारका अनुसार आदिम कालमा खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठको टोड्कामा छाला मढेर बजाउँदा यसको पहिलो आवाज निस्किएको लोकविश्वास छ । तर, आधुनिकताले आफ्नो पेसा नै विस्थापित गरिदिएको उनको दुखेसो छ ।

सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार, “नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो बैभव सम्झनामा मात्र सीमित हुन थालेको छ ।”

लोक–संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा त्रिभुवन बरइले यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई सङ्कटको कारण बताए । उनले भने, “आधुनिक सङ्गीतले भन्दा डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ बिस्तारै हराउँदै गएको छ ।

डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख कल्पना हरिजनले कलाकारलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिनु आवश्यक रहेको बताइन् । पेसागत पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा पुगेको भन्दै उनले सामूहिक डफला वादन प्रतियोगितालाई बढवा दिने बताइन् ।

त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले ‘डफला’ लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । उनले भने, “यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ । राज्य र समुदाय दुवैले यसको संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुनेछ ।” रासस