तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित


म्याग्दी, पुस १३ । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि फेरि अध्ययन सुरु भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा निकै उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमस्थित तामाखानीको खोजतलास तथा उत्खनन सम्भाव्यता अध्ययन अघि बढाएको हो ।

मच्छिम गाउँ नजिकैको पाखोमा छ वटा स्थानमा रहेका तामाखानी करिब पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार भूगर्भविद्हरूको टोली खानी क्षेत्रमा तामाको मात्रा, संरचना र सम्भाव्यता पहिचान गर्न फिल्ड अध्ययनमा खटिएको छ । तिमीले सहज रूपमा खानीसम्म पुग्न सकियोस् भनेर मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकबाट तामाखानीसम्म पुग्ने पहुँचमार्गसमेत निर्माण भइसकेको छ ।

खानीको खोजतलास र सम्भाव्यता अध्ययन पूरा भएपछि अर्को चरणमा उत्खनन प्रक्रिया अघि बढाइने खत्रीले बताए । लामो समयपछि तामाखानी उत्खननको चर्चा सुरु भएपछि मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए ।

उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकालिन्थ्यो । तर प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि खानी बन्द भएको थियो । तिमीले इतिहास हेर्दा पनि तामाखानी उत्खननकै लागि छन्त्याल समुदाय मच्छिम क्षेत्रमा बसोबास गर्न आएको पाइन्छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा नै खानी खन्ने हो ।

अहिले पनि खानी क्षेत्रमा तामाका धाउ, सुरुङ र पहाडमा तामा रसाएको देख्न सकिन्छ । स्थानीयले ती सुरुङभित्र छिरेर घन र छिनोको प्रयोग गरी तामा निकाल्ने गर्थे । त्यही तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा बनाइन्थ्यो, जुन अहिले पनि कतिपय घरमा सजाएर राखिएको छ ।

स्थानीय कुलबहादुर छन्त्यालका अनुसार उत्खनन गर्दा वातावरणीय जोखिम र विपद्जन्य घटना नहोस् भनेर विशेष सतर्कता अपनाइनुपर्छ । साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग पनि छ । उल्लेखनीय रूपमा, उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दी जिल्लामा तामा प्रमुख खनिजका रूपमा पाइन्छ । रासस