काभ्रेपलाञ्चोक, १३ पुस । बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो ।
फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा कुसङ्गतबाट बचाउन, स्वच्छ जीवन जिउने कला सिकाउनुका साथै सामाजिक क्रियाकलापमा अनुशासित बन्न तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्याम्प सञ्चालन गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
माउन्ट एभरेस्ट फुटबल क्लब र बनेपा फुटबल क्लबको सहकार्य तथा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागेको एकेडेमीले पुस १९ गतेदेखि १५ दिन १६ वर्षमुनिका आठ वर्षसम्मका बालबालिकाका लागि क्याम्प सञ्चालन गरेको संस्थाका अध्यक्ष निरोज शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार बनेपास्थित बनेपा बहुप्राविधिक महाविद्यालयको मैदानमा हुने प्रशिक्षण बिहान दुई घण्टा सञ्चालन गरिनेछ । युवाखेलाडी उत्पादन गरी अखिल नेपालका फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने सबै उमेर समूहका छनोट कार्यक्रममा धेरैभन्दा धेरै खेलाडी छनोट गराउने, एन्फाले गर्ने राष्ट्रिय महिला लिग २०८३ सालमा सहभागी गराउने, काभ्रेपलाञ्चोकमा महिला खेलाडी उत्पादन गर्ने, जेहेन्दार, मेहेनती, आर्थिक स्थिति कमजोर भएका खेलाडीलाई विद्यालयमा पठनपाठन गर्न छात्रवृत्ति उपलब्ध गराउन पहल गर्ने तथा एकेडेमीमा आबद्ध खेलाडी तथा प्रशिक्षकलाई रोजगारीको वातावरण बनाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।
त्यसैगरी, २०८० सालमा स्थापित एकेडेमीले हाल पनि साँझ ४ः०० देखि ६ः०० बजेसम्म ६० बालबालिकालाई प्रशिक्षण गराउँदै आएको छ । एकेडेमीबाट उत्पादित खेलाडीले २०८१ सालको जिल्ला लिगमा बनेपा माउन्ट एभरेस्ट फुटबल क्लब प्रथम र बनेपा फुटबल क्लब दोस्रो स्थान प्राप्त गर्न सफल भएको सो अवसरमा जानकारी गराइयो ।
त्यसैगरी, २०८० सालमा अखिल नेपाल फुटबल सङ्घमा यु–१४ खेलाडी छनोटमा तीन खेलाडी छनोट गराउन सफल, २०८१ सालमा एन्फाको यु–१६ खेलाडी छनोटमा चार खेलाडी केन्द्रीय छनोटसम्म पुगेको संस्थाका उपाध्यक्ष मनिष भोछिचोयाले जानकारी दिए ।
उनका अनुसार एन्फाको राष्ट्रिय यु–१६ प्रतियोगिता खुमलटार फुटबल क्लबमा दुई खेलाडी अनुबन्धित भएका थिए । एकेडेमीका खेलाडी माउन्ट एभरेस्ट फुटबल क्लबमा आबद्ध रही प्रदेश लिग खेल्न सफल भएका छन् । रासस




प्रतिक्रिया