आगामी माघमा चितवनमा अन्तरराष्ट्रिय डेरी एक्स्पो


चितवन, १३ पुस । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा आगामी माघ २५ गतेदेखि अन्तरराष्ट्रिय डेरी एक्स्पो, २०८२ आयोजन हुने भएको छ ।

सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहन गर्न, किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा ल्याउन एक्स्पो गर्न लागिएको हो ।

सङ्घले गत वर्ष पनि डेरी एक्स्पो आयोजना गरेको थियो । अध्यक्ष बगालेका अनुसार एक्स्पोमा भारतीय व्यवसायीहरुको पनि सहभागिता रहनेछ । गत वर्षको एक्स्पोपछि चितवनमा पहिलेको तुलनामा हाल १५ हजार लिटरभन्दा बढी अर्थात् दैनिक एक लाख ६५ हजार लिटर दूध खपत हुँदै आएको छ ।

जिल्लामा हाल ११५ वटा सहकारीबाट दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । दुग्धजन्य उत्पादनमध्ये कच्चा दूध र नौनीको जिल्लामा खपत बढेको सङ्घको भनाइ छ । एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा सहयोग पुगेको सङ्घको विश्वास छ । रासस