केही लेखकले आफू रित्तिएरै पनि साहित्यसेवा गरिरहेका छन् : विश्व कुइँकेल


साहित्य–वार्ता

माता/पिताः ईश्वरी/कृष्णप्रसाद कुइँकेल
अध्ययनः स्नातकोत्तर (अर्थशास्त्र र जनप्रशासन)
प्रथम प्रकाशित रचनाः नेपालले स्वतः पाउनुपर्ने छ र तिनको आधार (लेख नेपालवाणी साप्ताहिक–२०५७ भदौ), बाबु, आमा र काका (कथा– साहित्यिक रचनातर्फ)
प्रकाशित कृतिः सुगन्धपुर (कथासङ्ग्रह) र गोपीचा (उपन्यास)

यहाँको साहित्य लेखन कहिलेबाट शुरू भयो ?
विद्यालय तहमा नै कथा, कविता, निबन्ध र नाटक लेख्थें । रेडियो नेपालबाट प्रसारण पनि हुने गर्थे । युवा अवस्थामा विशेषतः कथाहरू लेखेको थिएँ तर कतै प्रसारण वा प्रकाशनका लागि दिइएन । प्रकाशन गर्ने हुटहुटी पनि जागेन । अहिले पनि केही भाग वा आधासम्म लेखिएका उपन्यासका पाण्डुलिपि बुकसेल्फमा भेटिन्छन् । युवावयमा लेखिएको हुँदा स्वाभाविक रूपमा प्रेमिल अंशहरू छन् । लेख्ने भनेको अनुभूतिको सङ्गालो पनि रहेछ । अनुभव वा अध्ययनले आफूलाई फरक महशुस गरेपछि ती प्रेमिल अंशलाई पूरा गर्ने जाँगर नचल्ने रहेछ । पछि लामो समयसम्म लेख्नभन्दा पुस्तक पढ्नमा नै भुलियों । किनभने एउटा राम्रो लेखक हुन ऊ राम्रो पाठक हुनै पर्छ । वि.सं. २०७१ तिर कुनै खास व्यक्ति र घटनाबाट प्रभावित भई पुनः कथा लेखेपछि नजिकका मित्रबाट प्रोत्साहन पाएँ । जीवनमा भोगिएका यस्ता घटनालाई जोड्दै जोड्दै थप कथा लेखें तर प्रकाशन भने गरिएन ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
साहित्य लेखनमा म घरबाट नै प्रभावित थिएँ । पिताजी कविता लेख्न रुचाउनुहुन्थ्यो र उहाँका कविता जागिरको सिलसिलामा पुगेका जिल्लाबाट निस्कने पत्रिकामा छापिएको पाउँथे । त्यसमाथि म हुर्कंदाको समय टेलिभिजन र इन्टरनेटमा भुल्ने अवसर कम भएकोले होला– पढ्न र लेख्न रुचाउने साथीहरू विशेषतः कविता नै लेख्थे । गीत गाउँथे । यसको पनि प्रभाव प¥यो । पछि साहित्यिक पुस्तकहरू पढ्ने बानी लाग्यो– जसले क्रमशः प्रभाव सिर्जना गर्दै गयो । स्थापित लेखकमध्ये फलानोबाट प्रभावित छु भन्ने छैन । सबैका सबै किसिमका रचना उत्सुकतापूर्वक पढ्ने गर्छु । आफू खासै साहित्य नलेख्दा रचनाको बुनोट र सिद्धान्तमा ध्यान जाँदैनथ्यो । अहिले पनि पढ्न रुचाउँछु तर अहिले रचनाको बुनोट र सिद्धान्तमा बढी ध्यान जान्छ ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
वि.सं. २०७८ मा सुगन्धपुर कथासङ्ग्रह प्रकाशन भएको हो । त्यो छाप्दा नै केही कथा सङ्ग्रहमा राखिएन । पछि पनि केही कथा लेखें । केही छापियो, केही छापिएन । विषयवस्तुले गहिरो प्रभाव नपारेसम्म म कथा लेख्न सक्दिनँ । तथापि एउटा सङ्ग्रह छाप्न पुग्ने कथाहरू छन् । एकदुईपटक छाप्न पनि खोजें तर यत्तिकै रोकिएँ । उपन्यासको अवधारणामा पनि काम गरें । आधा भइसकेको उपन्यासलाई विषयवस्तुमाथि न्याय गर्न नसकेको जस्तो लागेर ड्रप गरेर बसेको धेरै भयो । वास्तवमा गोपीचा उपन्यासपछि मैले निकै कम लेखें । अझैसम्म पनि खास अवधारणामा काम गर्ने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेको छैन । पूर्णकालीन लेखक हुनु निकै कठिन काम हो, त्यो पनि साहित्यिक । पूर्णकालीन नभएको कारणले पनि कृति जन्माउन सकस भइरहेको छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
राष्ट्र नै त हो अभिभावक । सबै विषयलाई लाइनमा लगाइदिने नै यसैले हो । हामीकहाँ त अभिभावकको अभिभावकत्वमा मात्र खोट छैन– अभिभावकलाई खोटयुक्त देखाउने होडबाजी नै छ । हुनचाहिँ हामी सबै एकै ड्याङका मूला हौं । तर मूला हौं भन्ने स्वीकार्यता छैन । अरूलाई मूला बनाएर आफू गाँजर हुँ भनी दह्रिने परिपाटी छ । सैद्धान्तिक कुरा गर्ने हो भने स्रष्टाले मेहनतको मूल्य पाउने, राम्रो गर्नेको उचित मूल्याङ्कन गर्ने, साहित्यमा अनुसन्धानको वातावरण बनाइदिए हुन्थ्यो जस्तो लाग्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
लेख्दा आफूलाई खुसी लागोस्, नलेखिएका विषयवस्तु र रुचिकर शैलीमा लेख्न सकियोस्, आफ्नो देश र आफू जन्मेको भूगोललाई न्याय गर्न सकियोस्, पाठकलाई सन्तुष्ट बनाउन सकियोस् ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
एउटै बास्केटमा राख्न सकिन्न । यो व्यक्ति परोक्ष कुरा हो । केही नामका लागि बिनामेहनत खटिएका देखिन्छन्, केहीले आफ्नो खुसी र पाठकको खुसीलाई समायोजन गर्न सकेका देखिन्नन् । केही लेखकले आफू रित्तिएर साहित्यसेवा गरिरहेका पनि छन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
प्रायः लेखकमा मैले त गज्जबै लेख्छु भन्ने भ्रम हुन्छ । मलाई पनि लेखिसक्नासाथ त्यस्तै लाग्छ । अत्यन्त सन्तुष्ट हुन्छु । जब दोहो¥याएर पढ्छु, सन्तुष्ट हुन्नँ । सम्पादन गर्छु, सन्तुष्ट हुन्छु । छाप्छु प्रतिक्रिया लिन्छु, फेरि सन्तुष्ट हुन्नँ । योभन्दा अझ राम्रो पनि गर्न सक्थेँ होला जस्तो लाग्छ । त्यसैले सन्तुष्टि भनेको क्षणिक र चक्रमा तलमाथि गर्ने कुरा रहेछ जस्तो लाग्छ । तर एउटा कुराचाहिँ भनिहालौं, म आलोचना रुचाउने लेखक हुँ । नेपाली साहित्यमा फैलिरहेको प्रशस्तिगानवादबाट निराश छु म ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो नलेखिएका विषय धेरै थिए । इन्टरनेट र विश्व साहित्यको प्रभाव कम थियो । यस्तै पाठकको ज्ञानको दायरा पनि कम थियो । अहिले नयाँ विषय खोज्नु, प्रस्तुतिमा नौलोपन बनाउनु, मौलिक सिर्जना दिनु र पाठकलाई सन्तुष्ट गराउनु चुनौतीपूर्ण छ । अर्को कुरा हिजोका मानिससँग ज्ञानको स्रोत भनेकै पुस्तक थियो । आज ज्ञानका स्रोत अनेकौं भएका छन् । मानिसहरूको व्यस्तताले ज्ञान, मनोरञ्जन क्याप्सुलमा चाहिएको छ मानिसहरूलाई । पन्ध्र सेकेण्डको भिडियो पनि दुई सेकेण्डमा स्क्रोल गर्छ मान्छे । पाठक घटेका छन् । पाठकको धीरता घटेको छ । अहिले लेख्नु चुनौती भएको छ । लेख्नु कि नलेख्नु, कसका लागि लेख्नु भन्ने कुरा जटिल भएको छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
परिपक्व साहित्यको मूल्य बढी छ । आजभोलि आख्यानमा पनि तथ्य खोज्ने बानी परेको छ पाठकहरूलाई । हामी तथ्य भनेर तर्कमा रुमल्लिएका देखिन्छौं । ओजपूर्ण र व्यवस्थित रूपमा सबै प्रकारका साहित्य लेखिनुपर्छ तर समाजलाई मिसलिड गर्ने र सामाजिक आदर्शलाई भताभुङ्ग पार्ने साहित्य लेख्नुहुन्न ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
पहिलो कुरा त यो आन्तरिक नै हो । आफूभित्रकै प्रेरणाले लेख्ने हो । लेखिसकेपछि भने वस्तुनिष्ठ मूल्याङ्कनले प्रेरणा दिन्छ । पाठकको मायाले पनि प्रेरणा दिन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
भावनाका उछाल आएको बेलाचाहिँ वरिपरि बाजा बजाए पनि लेख्न सक्छु । लेख्ने विषयवस्तु नजन्मेको बेला राराकिनारमा बसेर नि लेख्न सक्दिनँ । प्राय ग्यापहरूमा लेखेको छु मैले । त्यसकारण सबैभन्दा ठूलो कुरा भनेको भावनाको उछाल हो । उछालको समयमा वातावरण पनि महत्त्वपूर्ण हुँदैन ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
जुन घटनाले भित्रैबाट चिमोट्छ वा गहिरो तरङ्ग उत्पन्न गर्छ र लेख्दा न्याय गर्न सक्छु भन्ने लाग्छ– त्यही विषयवस्तु छान्छु ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
अरूसँग तुलना नगर्ने, मनले खाएको विषयवस्तु छान्ने, लेख्नकै लागि भनेर नलेख्ने, आफ्नो सबल पक्ष पहिचान गरेर त्यसैलाई निखार्ने, खुसी बनाइदिने प्रवृत्तिबाट टाढा बस्ने, स्वस्थ आलोचनालाई स्वीकार गर्ने, आफू गज्जबै लेख्छु भन्ने भ्रम नपाल्ने तर आफूलाई अवमूल्यन पनि नगर्ने गर्दा सफल होइन्छ जस्तो लाग्छ । तर यति धेरै विषय व्याख्या गर्नेगरी आफैँलाई जाँच्न बाँकी नै छ अझै मेरो पनि ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
साहित्य क्षेत्र पनि नदीको प्रवाहजस्तै हो । कहिले यसमा भेल आउँछ । कहिले सुक्छ । कहिले धमिलो पानी आउँछ कहिले सफा हुन्छ । ठ्याक्कै यो विधा भन्ने कुरा तरल हुन्छ । तथापि आख्यानमा विशेष गरी उपन्यासका पाठक धेरै छन् जस्तो देखिन्छन् तर पछिल्लो समयमा गैर आख्यानमा पनि पाठकको विशेष रुचि देखिइरहेको छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
प्रख्यात भारतीय लेखिका अरुन्धती रोय आफ्नो “मदर मेरी कम्स टु मि” मा लेख्नुहुन्छ– “कथासाहित्य भनेको अनौठो धुवाँजस्तो वस्तु हो, जसको पूर्ण स्वामित्व लेखकहरूसँग हुँदैन जबकि लेखकहरू यसको स्वामित्व मसँग छ भन्ने ठान्दछन् । यो कहाँबाट आउँछ भनेर हेर्दा हाम्रो अतीत, वर्तमान, पढेका कुरा र कल्पनाबाट जन्मने हो । र शायद हाम्रो भविष्यका पूर्वाभासबाट पनि जन्मन्छ ।” यसकारण कल्पनाशीलता नभई साहित्य नै बन्दैन । यथार्थविना सजीवता दिन सकिँदैन । दुवैको उचित संयोजन हुनुपर्ने भए पनि यथार्थवादी लेखनमा यथार्थको भार बढी हुनुपर्छ । स्वैर–कल्पनामा भने कल्पनाशीलता नै प्रधान हुन्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
प्राय प्राज्ञिक लेखनमात्रै बाध्यताले लेखिन्छ जस्तो लाग्छ । तर त्यसमा पनि व्यक्तिगत सुख त मिसिएकै हुन्छ । तर पनि कसैले कुनै विषयवस्तुलाई मिसलिड गरिरहेको छ भन्ने लाग्यो भन्ने लाग्यो भने लेख्ने बाध्यता रहन्छ । केही समयअघि समालोचनाको नाममा यस्तै एउटा सङ्घर्ष चलेको थियो– जसमा पुस्तककी लेखिकाले आफ्नो पुस्तकमाथि भएको समालोचनामाथि नै लेख्न बाध्य हुनुभयो । मैले पनि कहिलेकाहीँ बाध्यताले लेखेको छु । हालाकी यो बाध्यता व्यक्तिगत मूल्य, मान्यता र दृष्टिकोणले मात्र थियो । विषय थियो, काँठ के हो र के होइन भन्ने ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
ज्ञानको दल हुँदैन, दृष्टिकोण मात्र हुन्छ । आफूलाई ज्ञानको पर्याय ठान्ने लेखकहरूलाई दलीय झण्डामुनि बस्नुपर्ने अवस्था आउनु बिडम्बना हो । नेपालमा भने यसको पछाडि कसैको नेता बन्ने रहर, कसैको अवसर पाउने लालच, कसैलाई अस्तित्व जोगाउने बाध्यता देखिन्छ । कोही रुचिका धारका कारण पनि दलीय ट्याग भिर्छन् ।